व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् ।
तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गरेका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोबार गर्छ । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ ।
ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट विसं २०६० मा दमौली झरेका आलेले सुरुमा मासु व्यवसाय गरे। विसं २०७० मा मासु व्यवसायसँगै उनले बङ्गुरपालन सुरु गरे। ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनले निर्माण गरेका नौ वटा खोरमा बङ्गुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उहाँले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोलेका छ । बङ्गुर काटेर आफू र अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आएका छन् ।
मासु पसल र बङ्गुरपालन व्यवसायबाट आलेले व्यास–३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गरेका छन् । बङ्गुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक रु बीस हजार तलब दिइरहेको आलेले बताए । “एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ”, उनले भने । एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच/छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उनको भनाइ छ ।
“मासिक त्यस्तै १२/१५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बङ्गुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।
उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बङ्गुरपालन गरी बङ्गुरको धेरै मासु बिक्री गर्ने आले नै छन् । अधिकांश मासु पसलमा उनले नै बङ्गुर, सङ्गुरको मासु पठाउने गरेको छ । उनका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बङ्गुर÷राँगो रु चार सयमा बिक्री गर्ने गरेको उनकी श्रीमती कृष्णमायाले बताए ।
“मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छाैं”, उनले भने, “कोभिडको समयमा मासुको व्यपार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।” पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।