इनरुवा । समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरी आजबाट भने औपचारिक रुपमा एक भएको छ । 

संस्थापना  र जेठ २ अघिकाे कमिटीकमा पक्षमा उभिएका नेताहरुले आफु पायक गठित समानान्तर कमिटी खारेज गरेसँगै एमाले सुनसरीको विवाद समाधान भएको हो । 

सोही बमोजिम इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला पार्टी कमिटी एक भएको घोषणा गरेको छ । नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको पूर्ण बैठकबाट त्यस्तो घोषणा गरिएको हो ।

पूर्ण बैठकले जिल्ला कमिटी एक हुनुका साथै नयाँ कमिटी गठन भएको घोषणा गरेको छ । कार्यक्रमका बिच औपचारिक रुपमा गठित जिल्ला कमिटीका पदाधिकारीहरुको नामावली समेत सार्वजनिक गरिएको छ ।

जस अनुसार नेकपा एमाले सुनसरी अध्यक्षको जिम्मेबारी खेमराज पोखरेललाई दिइएको छ ।  नयाँ गठित जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्द बस्नेत रहेका छन । त्यसैगरी सचिवमा पर्शुराम यादव र शत्रुघन यादव छानिएका छन । सह–सचिवको जिम्मेबारी भने लिलम बस्नेत र लोकेश निरौलालाई दिइएको छ । 

उक्त नामावली पूर्ण बैठकका बिच पार्टीका केन्द्रीय सदस्य तथा सह–इन्चार्ज जगदिस कुसियतले सार्वजनिक गरेका थिए । कुसियतले केन्द्रको निर्देशन बमोजित गठित समस्या समाधान समितिले जुटाएको सहमतिका आधारमा पार्टी पदाधिकारी तथा जिल्ला पंक्ति एक भएको घोषणा गरिएको बताए ।  

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, जिल्ला इन्चार्ज धर्म निरौला, सह इन्चार्जहरु कुसियत सहित भगवती चौधरी र तैयब हुसेन लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले विगतलाई विर्सेर वर्तमानलाई आत्मसाथ गरी अघि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले सुनसरीमा जिल्ला कमिटी एक भएको सन्देशले केन्द्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले तितामिठा विगत विर्सेर सिङ्गो पार्टी निर्माणमा एकहुनु पर्ने आवश्यक्ता रहेको औंल्याए । उनले एमालेलाई आगामी चुनावमा बहुमत सिद्ध पार्टीको स्थानमा पुर्याउन सबै नेता तथा कार्यकर्ताको भूमिका अहम हुने बताए । कार्यक्रमका अधिकांश वक्ताले जिल्ला संगठनलाई एकतावद्ध बनाई अघि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले पूर्ण बैठकको निर्णयले एमाले सुनसरीमा नयाँ सञ्चार गराएको धारणा राखे । 

कार्यक्रम सुरुवातमा भने इटहरी उपमहानगरपालिका प्रमुख रहेका द्धारिकलाल चौधरीले १० बुँदेको विषय झिकेर होहल्ला गरेपछि केहिबेर कार्यक्रम स्थलको माहोल गरमाएको थियो । चौधरीले कार्यक्रमको अध्यक्षता रमेश बस्नेतले गर्नु पर्ने अडान लिएका थिए । 

उनले बस्नेतलाई नभए आफुलाई अध्यक्षता गर्न दिइनु पर्ने भन्दै रोष्टममा रहेको माइक खोस्न पुगेका थिए । आचार्य सहितका नेताले सम्झाएपछि चौधरी कार्यक्रम स्थल छाडेर निस्किएका थिए । 

यसअघि सुनसरीमा दुइवटा समानान्तर कमिटी अस्थित्वमा रहेको थियो । जिल्लामा भण्डारी र बस्नेत नेतृत्वको कमिटीले आफु अनुकुल नेतृत्वमा अडान राख्दै आएको थियो । पूर्ण बैठकसँगै ७ सय बढी सदस्य रहेको जिल्ला कमिटी गठन हुने एमाले सुनसरीले जनाएको छ।