नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा विवाद थप चुलिँदै गएको छ ।अधिवेशन अघि दुईवटै कमिटीलाई एकै ठाउँमा ल्याउन गरिएको पछिल्लो प्रयासले पनि विवाद समाधान गर्न सकेको छैन । जसको परिणाम स्वरूप आज इनरुवास्थित ओसाई पार्टी प्यालेसमा बसेको बैठकमा माइक खोसाखोस भएको छ । 

जेठ २ अघिको कमिटीका अध्यक्ष  रमेश बस्नेत र केन्द्रीय नेतृत्वले चयन गरेका अध्यक्ष  रेवतीरमण भण्डारी पक्षको कमिटी बिच विवाद समाधान नभएपछि मंगलबार नेताहरू बिच दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने सहमति भएको थियो । 

उक्त बैठकले  दुवै समूहको सहमतिका साथ प्रदेश सदस्य खेमराज पोखरेललाई अध्यक्ष बनाउन आज इनरुवामा बैठक बोलाएको थियो । 

मंगलबार नेताहरू बिच सहमति भएको केही समयपछि  आफ्नै अध्यक्षतामा पार्टी कार्यालयमा छुट्टै भेला हुन भन्दै जिल्ला कमिटी सदस्यहरूलाई अनुरोध गर्दै फेसबुक स्ट्याटस पाेष्ट गरेका पूर्व अध्यक्ष द्वारिकालाल चौधरीले सुनसरी इन्चार्ज तथा केन्द्रीय सदस्य धर्मराज निरौलाको अध्यक्षतामा पार्टी प्यालेसमा चलिरहेको  बैठकमा  निरौलाले बोल्ने क्रममा माइक खोसेका छन्।

अवैधानिक व्यक्तिले अध्यक्षता रहेको अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि उनकाे हालबाट माइक खोस्न कार्यकर्ताहरू मंञ्च उक्लिएका थिए । माइक खोसेसँगै बैठक बहिस्कार गरी त्यहाँ हिँडेका चौधरीले  केही बेरमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

चौधरीले माइक खोसे पनि बैठक अघि बढिसकेको  एक नेताले जनाएका छन्  ।   यता,  जेठ २ अघिको कमिटीका अध्यक्ष  बस्नेत समूहका २४ बढी जिल्ला कमिटी सदस्य भने बैठकमा उपस्थित भएनन् । उनीहरूले अन्तरपार्टी निर्देशन १२ को धज्जी उडाएको भन्दै कम्युनिस्ट पार्टी विधन र विधिबाट चल्नुपर्नेमा व्यक्तिबाट चलेको आरोप लगाएका छन् ।  आज बिहान  छुट्टै भेला आयोजना गरी ३२ जनाको हस्ताक्षरसहित विज्ञप्ति समेत जारी गर्दै अाफुहरू बिद्राेहमा रहेकाे बताएका छन् ।