धरान । कोरोना महामारीका कारण जमघट गर्न नपाएका धरानेले शनिबार राति गृहवासी गायक सविन राईलाई पाउँदा फरक आनन्द लिए ।

धरानको बगरकोटस्थित एमएच लाउञ्ज एण्ड बारमा सविन स्टेज प्रवेश गर्दादेखि नै ‘सविन, सविन’ भन्दै चिच्याएका फ्यानले गीतैपिच्छे ‘वान्स मोर’ ले हैरान बनाए । धेरैपछि गृहनगर आएका उनले धराने फ्यानलाई भने, ‘म धरानमै जन्मिएँ, धरानमै हुर्किएँ, धरानमै मर्नेछु । तपाईंहरूको माया यसरी नै पाइरहुँ ।’ सविन एण्ड द फ्यारो ब्याण्डका साथ धरान आइपुगेका उनले एक दर्जन गीत पस्किए ।

‘समर्पण तिम्रो, सुन्दरताको तिमी, म संसार जित्ने’ लगायतका आफ्ना लोकप्रिय गीत पस्किएका थिए । त्यसक्रममा उनले बाढीपहिरोबाट मृत्यु भएका र कोरोनाबाट मृत्यु भएकाप्रति समर्पण गर्दै केही गीत पनि पस्किएका थिए ।

सिग्नेचरको प्रस्तुतिमा भएको साङ्गीतिक कार्यक्रमका कारण एमएच लाउञ्ज एण्ड बारमा भीडले थामिनसक्नु थियो । विशेषगरी युवायुवतीको ढुकढुकीका रूपमा रहेका सविन र उनको ब्याण्डले धराने फ्यानलाई भरपूर मनोरञ्जन दिएको थियो । त्यसअघि स्थानीय ब्याण्डका सदस्यले पनि गीत प्रस्तुत गरेका थिए ।

तर, सविनको पर्खाइमा रहेका फ्यानको पर्खाइलाई साढे ८ बजेपछि मात्रै स्टेजमा झुल्किएका थिए । बिर्तामोडबाट सुरु भएको साङ्गीतिक यात्रा धरान हुँदै चितवन, पोखरा, काठमाडौंमा गएर टुङ्गिने जनाइएको छ । हिप्पी फेसनमा देखिएका सविन नेपाली ब्रायन आडम्सका नामले परिचित छन् ।