धरान/ लिम्बू जातिको मौलिक संस्कृति र किपटप्रथाको कथामा निर्माण भएको चलचित्र ‘चेसुङ’ धरानमा पुनः प्रदर्शन हुने भएको छ ।

२०६४ सालमा निर्माण भएको ‘चेसुङ’ लामो समयपछि पुनः प्रदर्शनमा आउन लागेको हो । २०१८ देखि ०२१ सालसम्मको नेपालको राजनैतिक उतार–चढावका कारण लिम्बुवानका लिम्बूहरूमा परेको आर्थिक, सामाजिक र मानसिक विस्थापनलाई मूल विषय बनाई निर्माण गरिएको चेसुङ असोज १६ गते शनिबार धरानको गणेश टाकिजमा प्रदर्शन गर्न लागिएको हो ।

विजयपुर सिने आर्ट्सले धरान र त्यसपछि ताप्लेजुङ, तेह्रथुम, धनकुटा र झापामा पनि प्रदर्शन गर्ने तयारी गरेको निर्माता किशोरकुमार सम्बाहाङ्फेले बताए ।

क्रान्तिकारी भूमिसुधारका नाममा सरकारले किपटप्रथा उन्मूलन गरेको थियो । त्यसपछि लिम्बू समुदायले भोग्नुपरेका समस्याहरू चलचित्रमा उठाइएको छ ।

मचिन्द्र इम्बुङ (मौसम) को निर्देशन, पटकथा र संवाद तथा कल्पना भीष्मा चेम्जोङको कथा र निर्माण परिकल्पना रहेको चेसुङमा प्रेम सुब्बा, शोभा, खजुम, पुष्प श्रेष्ठ, रमेश सिङ्गक, विष्णु चेम्जोङ, मनोज शाक्य, सुवर्ण पलिखे, यासेली योङ्हाङ, सौगात रिजाल, राजीव दाहाललगायतले अभिनय गरेका छन् ।

किशोर सम्बाहाङ्फेको द्वन्द्व निर्देशन, यासेली योङ्हाङको कला तथा युवराज राई र दिनेश बान्तवाको छायाङ्कन रहेको यो चलचित्र हङ्कङ, सिक्किम, दार्जिलिङ, बेलायत, अमेरिका, सिङ्गापुरलगायत देशमा समेत प्रदर्शन गरिएको थियो ।