सिलाम साक्माको अर्थ तथा परिभाषा
लिम्बूू जातिको सस्कार संस्कृति र जीवनको प्रतीकको रूपमा प्रचलित ‘सिलाम साक्मा’ को शाब्दिक अर्थ ‘मृत्युको बाटो छेक्नु वा जीवन संरक्षण गर्नु’ हो । हस्तकलाले सिर्जित सिलाम साक्मा सांस्कृतिक बिम्ब मात्र नभएर हाल विश्वव्यापी रूपमा सांस्कृतिक ब्राण्ड बन्न पुगेको छ । यो अहिले विश्वको कुना कुनामा पुगेको छ । यो नेपालको सांस्कृतिक राष्ट्रिय सम्पदामा सूचीकृत गराउँदै विश्व सांस्कृतिक सम्पदाको सूचीमा समेत सूचीकृत गर्न पहल गर्नुपर्ने देखिन्छ । 

प्राचीन समयमा याक्थुङ (लिम्बू) पुर्खाले सिलाम साक्माको आविष्कार गरी येबा, साम्बा, फेदाङ्माले तङ्सिङ अनुष्ठान गर्दा, लाम्भोवा गर्दा, तिङ्दिङ नाहेन मिक्सो गर्दा, साक्मुरा खेङ्गा गर्दा, सातो बोलाउँदा तथा जोगाउँदा अनिष्ट रोक्दा जस्ता कार्यहरूमा काँचो सेतो धागोबाट निर्माण गरी यसको प्रयोग गर्दै आएका छन् ।

सिलाम साक्माको मुन्धुमी पक्ष
याक्थुङ मुन्धुमअनुसार सावा येत्हाङ गाउँमा महामारी फैलियो । महामारीले धेरै मानिसुहरू मरे । धेरै वर्षसम्म निरन्तर मरिरहे । मानव वंश नै विनाश हुने डरले महामारीबाट छुट्कारा पाउन सोधुङ्गेन लेप्मुहाङ समक्ष बिन्ती बिसाए । सोधुङ्गेन लेप्मुहाङले येबा, साम्बा, फेदाङ्माहरूलाई सावा येत्हाङको गाउँमा पठाए । येबा, साम्बा, फेदाङ्माहरूले महामारी निर्मूल पार्नको लागि दुईवटा मुक्तो (घुङ्रिङ) को डण्डीलाई दुवै छेउतिर खुर्केर फुर्का निकाले ।

उक्त घुङ्रिङको डण्डीलाई लम्ब हुने गरी बीच भागमा राखी बाँधेर धागोले ९ फन्का गरी बाँधेर सिलाम साक्मा बनाए । उक्त सिलाम साक्मालाई येबा, साम्बा र फेदाङ्माहरूले सावा येत्हाङहरूको घरघरमा गई उनीहरूको चुलामाथि साराङमा मुन्धुम जपी गाडी दिए । यसरी सिलाम साक्मा गाडेपछि मर्ने क्रम कम हुँदै गयो । महामारी रोकियो । यही समयदेखि येबा, साम्बा र फेदाङ्माहरूले जीवनको संरक्षण तथा महामारीको मृत्युबाट रोक्नको लागि सिलाम साक्माको प्रयोग गर्दै आएका हुन् ।

त्यसैगरी अर्को मिथकअनुसार तागेरा निङ्वाफुमा युमामाङले पोरोक्मी यम्फामीमाङलाई मानव विना ब्रह्माण्ड नसुहाएकोले मानवको  सृष्टि गर्न आदेश दिए । पोरोक्मी यम्फामीमाङले आदेशअनुसार सुन, चाँदी, हीरामोतीजस्ता महुमूल्य धातुबाट मानवको सृष्टि गरे । बनाइसकेपछि बोलाउँदा बोलेन । पोरोक्मी यम्फामीमाङले फेरि तागेरा निङ्वाफुमा युमामाङसँग बिन्ती गरे । तागेरा निङ्वाफुमा युमामाङको निर्देशनअनुसार माटो, खरानी, पंक्षीको विष्टाद्वारा मानव बनाए । त्यो जीवन्त भयो । बोलाउँदा बोल्यो । पोरोक्मी यम्फामीमाङले बहुमूल्य धातुबाट बनाएर बोलाउँदा नबोल्ने भनी थुकी दिँदा उक्त मानवको शिर ढल्यो । मृत्युको मुखसम्म पुग्यो  । यसरी अल्पायुमा नै मर्न नपरोस् भनेर तागेरा निङ्वाफुमा युमामाङको निर्देशनअनुसार पोरोक्मी यम्फामीमाङले सिलाम साक्माको निर्माण गरी उक्त मानिसको जीवन संरक्षण ग¥यो ।

सिलाम साक्माको विकासक्रम
वि.सं. २०४६ सालमा किरात याक्थुङ चुम्लुङको स्थापनासँगै पहिलो पटक सिलाम साक्मा अङ्कित झण्डा र लोगो संस्थागत रूपमा प्रयोग भयो । नेपालमा प्रजातन्त्रको आगमनसँगै च्याउसरी सङ्घ–संस्थाहरू खोलिए । अधिकांश लिम्बूजन्य सङ्घ–संस्थाहरूले लोगोको रूपमा यसको प्रयोग गरे । लिम्बू विद्यार्थी मञ्च (२०५५), साम्जिक मुन्धुम चुम्भो (२०६४), युमा साम्यो महासभा (२०७४) आदि सङ्घ–संस्थाले सिलाम साक्मालाई लोगो र झण्डाको रूपमा प्रयोग गरे ।

किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य नरप्रसाद लुम्फुङ्वाका अनुसार वि.सं. २०४९ सालमा किरात याक्थुङ चुम्लुङको दोस्रो महाधिवेशनमा तत्कालीन सुनसरी जिल्ला सदस्य लालबहादुर लुम्फुङ्वा र दिलबहादुर मादेनद्वारा निर्मित ठूलो खालको सिलाम साक्मा कार्यक्रमको पोडियममा सजिएको थियो । उहाँहरू द्वारा नै निर्मित अर्को ठूलो सिलाम साक्मा वि.सं. २०५५ सालमा पर्यटन वर्ष १९९८ को लागि पहिलो धरान महोत्सवमा लिम्बूको मौलिक घर बनाई प्रदर्शन गरियो ।

वि.सं. २०५८–५९ सालदेखि निरन्तर रूपमा धरानमा आयोजित चासोक तङ्नामहरूमा ठूला सिलाम साक्माहरू प्रदर्शन गरिँदै छ । वि.सं. २०६४ सालमा किरात याक्थुङ चम्लुङ धरानद्वारा आयोजित चासोक तङ्नाममा वर्ष ८३ का केवलराम इमेहाङले पहिलो पल्ट सिलाम साक्माको ब्याजको रूपमा  निर्माण गरी किरात याक्थुङ चुम्लुङका पदाधिकारीहरूलाई निःशुल्क वितरण गरेका थिए । उनैबाट निर्मित सिलाम साक्माको ब्याज वि.सं. २०६५ सालको चासोक तङ्नाममा छथरे समाजका सांस्कृतिक कलाकारहरूले सामूहिकरूपमा लगाई केलाङ प्रस्तुत गरेका थिए । उक्त ब्याजले छथरे कलाकारहरूमा थप मौलिकपन झल्किएको देखियो । सोही सालदेखि पहिलो पटक उनै इमेहाङले रु. ३५ को दरले पहिलो पटक बिक्रीसमेत गर्न थाले ।

विशेषगरी लिम्बू जातिको सांस्कृतिक पर्व, उत्सव तथा कार्यक्रमहरूमा मात्र प्रयोग हुँदै आइरहेको थियो । वि.सं. २०७२ वैशाख ११ र १२ गते धरानमा भएको किरात याक्थुङ चुम्लुङको २० औं परिषद्को बैठकले एक घर एक सिलाम साक्मा, एक च्याब्रुङको कार्यक्रम ल्याइसकेपछि लिम्बू समुदायको घरघरमा सिलाम साक्मा सजाउन थालियो । २०७५ साल पुष २६, २७ र २८ गते धरानमा भएको पेगिफाङ्सामहरूको पहिलो विश्व सम्मेलनमा विजयपुरदेखि धरानको मुख्य बजार हुँदै हरियालीसम्मको ¥यालीमा सयौं सिलाम साक्माको प्रदर्शन गरियो ।

लिम्बू समुदायले सिलाम साक्माद्वारा आफ्नो  पहिचान झल्काउन थालेका छन् । लिम्बूूजन्य सङ्घ–संस्थाको लोगोको रूपमा, मायाको चिनोको रूपमा, अतिथि सत्कार ब्याजको रूपमा, सुन, चाँदी, पित्तलजस्ता धातुबाट निर्माण गरी प्रयोगमा ल्याइएको छ । साथै टी–सर्ट, टोपी, झोलालगायत ढाकाबाट बनेका विभिन्न कपडाहरूमा सिलाम साक्माको बुट्टा प्रयोग गर्न थालेका छन् । पछिल्लो समयमा मोरङ जिल्लाको मिक्लाजोङ–४ डाङ्डुङेमा १० लाख लागतको सात फिटको उचाइमा निर्माण सिलाम साक्माको प्रतिमासमेत बनाइएको छ । 

सिलाम साक्माको विश्वव्यापीकरण
इमेहाङ तेह्रथुम जिल्लाको छथर गाउँपालिका–४ साबिक फाक्चामारा–१ हाक्पारामा वि.सं. १९९५ वैशाख १४ गते जन्म भई भीममाया लोहरुङसँग वैवाहिक जीवनमा बाँधिएर ४ छोरा र ३ छोरीका पिता बने । लामो समयसम्म गाउँमै समाजसेवा गरी बसेका थिए । धरान–१५ पाथीभरा लाइनमा बसोबास गर्न थालेको करिब २० वर्षजस्तो भयो । उनी छथरे समाज धरान, सांस्कृतिक परिषद्को संस्थापक सदस्य हुन् ।

उमेरले डाँडा काटे पनि याक्थुङ संस्कार र संस्कृतिसँग जोडिएका बिनायो, च्याब्रुङजस्ता विभिन्न सामग्रीहरू निर्माण गरिरहन्छन् । उनैले सिलाम साक्मालाई पहिलो पटक ब्याजको रूपमा निर्माण गरे । धरानको चासोक तङ्नामहरूमा वितरण तथा बिक्रीसमेत गरे । उतिखेर लिम्बू जातिको महान् पर्व चासोक तङ्नाम लिम्बूको मौलिक संस्कार र संस्कृति प्रदर्शनका साथै प्रतिस्पर्धात्मक खेलहरू खेलाई ११ दिनसम्म कार्यक्रम हुन्थ्यो ।

संसारकै सबैभन्दा भव्य चासोक तङ्नाम धरानमा मनाइन्थ्यो । धरानको हरेक चुम्लुङको कार्यक्रममा अतिथिहरूलाई स्वागत सम्मान गर्दा ब्याजको रूपमा, मायाको चिनोको रूपमा सिलाम साक्मा हस्तान्तरण गरियो । यसरी हरेक दृष्टिकोणले सिलाम साक्माको व्यावसायीकरण तथा विश्वव्यापीकरण धरानबाट भएको देखिन्छ ।

अहिले आएर गैरलिम्बूहरूले समेत यसको प्रयोग गर्न थालेका छन् । सडकदेखि सदनसम्मकाले लाउन थालेका छन् । झुपडीदेखि महलसम्मकाले लाउन थालेका छन् ।  १ नं. प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले आफ्नो शपथ ग्रहण समारोहमा सिलाम साक्मा लाएर उभिए ।

मुन्दे्रका कमेडी क्लबका कलाकार देखि लिएर कमेडी च्याम्पियनका निर्णायक मनोज गजुरेल तथा कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलसमेतले गर्वका साथ मञ्चमा आफ्नो कला प्रदर्शन गरेका छन् । पब्लिक स्पिकर नेपाल सिजन २ का विजेता रमेश प्रसाईंले खुल्ला मञ्चमा सिलाम साक्मा लाउन मात्र होइन, यसको व्याख्यासमेत गरेका छन् ।

नेपालका वरिष्ठ कलाकार तथा महानायक राजेश हमाल, वरिष्ठ गायकहरू प्रमोद खरेल, राजेश पायल राईलगायतले सिलाम साक्मा लाएर स्टेज कार्यक्रमहरूमा गीत गाएका छन् । यसरी नै सबै जाति र समुदायका मानिसहरूले लाउँदै जाने हो भने सिङ्गो राष्ट्रको प्रतिकको रूपमा यो विश्वभरि प्रख्यात हुनसक्छ ।