युट्युब
युट्युब एक अमेरिकी भिडियो साझेदारी सेवा हो । यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ । यसलाई फेब्रुअरी २००५ मा पूर्व पेपलका कर्मचारी चाड हली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए । नोभेम्बर २००६ मा अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ ।

युट्युबले विभिन्न खाले भिडियोहरू समावेश गर्छ । त्यसैले मिडियाको साधन बनेको छ । यसले सञ्चार माध्यमलाई व्यापक बनाएको छ । अहिले सबैको लागि सहज सञ्चार माध्यम बनेको छ । युट्युबलाई विश्वका सबै मानिसले आ–आफ्नै तरिकाले प्रयोग गर्न सक्छन् । कसै–कसैले दुरुपयोग गरी कमाइखाने हतियारसमेत बनाएका छन् ।

युट्युबर
क्याम्ब्रिज शब्दकोश अनुसार युट्युबका लागि भिडियो बनाउने र भिडियोमा देखिने व्यक्ति युुट्युबर हो । युट्युबमार्फत् पेशा, व्यवसाय गर्ने व्यक्तिलाई युट्युबर भनिन्छ । युट्युबरहरूले पत्रकारिता, शिक्षण, तालिम, विज्ञापन, मनोरञ्जन तथा विभिन्न प्रकारका भिडियोहरू युट्युबमा समावेश गरी भ्युज र सस्क्राइवको आधारमा मुद्रीकरण भई आर्थिक लाभ गर्दछन् । आम सञ्चारमा प्रविधिमा आएको तीव्र विकाससँगै नेपालमा पत्रकारिता क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । प्रविधिलाई उच्चतम् प्रयोग गर्दै युट्युबरहरू च्याउसरी उम्रदै आएका छन् । युट्युबमार्फत् पत्रकारिता गर्नेको लर्काे छ । प्रविधिको गलत प्रयोगले अनलाइन पत्रकारिताको गुणस्तर पनि खस्कँदै गएको छ ।

कुनै बेला पत्रकारलाई उच्च सम्मानका भावले हेरिन्थ्यो । हाल सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालले गर्दा पत्रकारिता क्षेत्र पूरै धमिलिएको छ । अझ युट्युबे पत्रकार भनेपछि घृणाको दृष्टिले हेर्न थालिएको छ । किनभने केही युट्युबरहरूले आफ्नो भिडियो भाइरल बनाउने होडबाजीमा समाजमा भएको हिंसा, आतङ्क र जघन्य अपराधजस्ता गतिविधिलाई प्रश्रय दिने, आत्महत्या दुरुत्साहन, पारिवारिक द्वन्द्व, व्यक्तिको गोपनीयता, गरिबीपन, अज्ञानतामाथि व्यापार गरी डलर कमाइरहेका छन् ।

सञ्चारमा युट्युबर
नेपालमा दोस्रो जनआन्दोलनपश्चात् लोकतन्त्रको अगमनसँगै नेपाली पत्रकारिता पनि फस्टाउन थाल्यो । विगतमा छापा पत्रकारिताको चलन थियो भने अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा अनलाइन पत्रकारिता विकसित हुँदै गइरहेको छ । सूचना प्रविधिमा आएको तीव्र विकासले पत्रकारिता क्षेत्र द्रुत गतिमा विकास हुनु स्वभाविक नै हो । आम जनतालाई सूचना प्रदान गर्नको साथै राज्यको विशिष्ट पदमा बसेर सरकार चलाउनेहरूलाई समेत खबरदारी गर्ने भएकोले पत्रकारलाई राज्यको चौथो अङ्गको रूपमा हेर्ने गरिन्छ । प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्रमा पनि विकास भएको छ । युट्युबमार्फत् विभिन्न ताजाताजा सञ्चार सामग्रीहरू अपडेट भइरहेका छन् ।

युट्युबबाट सही सूचना सम्प्रेषण गर्ने, शान्त र संयम पाराले बेथितिको खबरदारी गर्ने, घटना तथा कार्यक्रमको रिपोर्ट तयार गर्ने गर्छ भने उसलाई पत्रकार भनिन्छ । तर, आफ्नो स्वार्थको लागि भ्युज, बढाएर डलर कमाउने हिसाबले भ्रामक तथा तथ्यहीन कुराहरू समेटेर अतिरञ्जित हेडलाइन बनाई भाइरल बनाउँछ भने उसलाई पत्रकार मान्न सकिँदैन । कतिपय युट्युबरले आफूलाई पत्रकार बताउँदै पत्रकारिताको धज्जी उडाउँदै हिँडेको पनि पाइन्छ । केही युट्युबरहरू आफ्नो हरेक भिडियोमा आफू पत्रकार भएको दाबीसमेत गर्ने गरेको पाइन्छ ।

युट्युबरको आतङ्क र व्यापार
पछिल्लो समयमा युट्युबरहरूले आफ्नो स्वार्थको लागि अतिरञ्जित भिडियोहरू सार्वजनिक गर्नाले हाम्रो समाज धरासायी बन्ने खतरामा छ । कुनै पनि व्यक्तिको निजी जिन्दगी वा पारिवारिक द्वन्द्वमा कुरै नबुझी एक पक्षलाई मात्र दोषी बनाई बहु अर्थ लाग्ने अतिरञ्जित हेडलाइन राखेर बढीभन्दा बढी दर्शकको ध्यान खिच्न चाहन्छन् । कतिपय युट्युबर नग्न, बीभत्स र क्षतविक्षतको दृश्य, दुव्र्यवहार गरेको दृश्य तथा भिडियो सुरुमै राखेर दोहो¥याई तेह¥याई जुम गरी गरी राखिदिन्छन् । जसले गर्दा भिडियो हेर्न मोहित वा लालायित बनाइदिन्छ । उनीहरूको नियत नै दर्शकको ध्यान खिचेर भ्युज र सस्क्राइव बढाउने अनि डलर कमाउने देखिन्छ । युट्युबरले खोजी खोजी देखाइरहेको पारिवारिक द्वन्द्व तथा डिभोर्स भिडियोले विदेशमा रहेका लाखौंलाख नेपाली युवाहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पारिरहेको छ । स्वदेशमै रहेका श्रीमान् श्रीमतीबीचको विश्वासमा समेत शङ्का, उपशङ्का गर्ने मानसिकताको विजारोपण हुने देखिन्छ ।

कसैको निजी जीवनमा घुसेर पारिवारिक द्वन्द्वलाई अदालतले बयान लिए झैं नानाथरी प्रश्न गर्दै समाजमा मात्र होइन, विश्वभर फैलाइदिन्छन् । निजी जीवनको चरित्र हत्या गरिदिन्छन् । सस्तो लोकप्रियताको लागि सस्क्राइवर भ्युज बढाउन कुनै कुनै युट्युबरले पीडितलाई पीडाको एक्सन गर्न लगाएर, जबरजस्ती पीडाको भाव पोख्न लगाएर सुटिङ गर्दै गरेको पनि सुन्दै र देख्दै आएका छौं । रिसको आवेगमा आएर बोलेको आधारमा सनसनीपूर्ण हेडलाइन राखेर भ्युज कमाउँदै डलरको व्यापार गरिरहेका छन् । साथै अधिकतम् डलर झरेपछि उक्त भिडियोले भविष्यमा आफूलाई जोखिम बनाउँछ भन्ने डरले युट्युबबाट पनि हटाइरहेका छन् ।

कुनै घटना घटिसकेपछि अज्ञानताको कारण पीडितले न्याय पाउनको लागि सम्बन्धित निकाय प्रहरी प्रशासनमा नगएर युट्युबरलाई बोलाउँछन् । पीडितले आफ्नो सारा पीडा पोखाउँछन् । त्यही विषयवस्तुलाई अतिरञ्जित तरिकाले हेडलाइन बनाएर भिडियो सार्वजनिक गर्छन् । युट्युबरहरू न पीडितको गोपनीयताप्रति संवेदनशील छन््, न पत्रकार आचार–संहिताको ज्ञान नै छ । पीडितको मानवीय तथा गोपनीयता भण्डाफोर गर्ने उद्देश्यले प्रश्नहरू तेस्र्याउँछन् । परिवारमा कहिल्यै समाधान हुन नसक्ने द्वन्द्व सिर्जना गरी आत्मीय सम्बन्ध ध्वस्त बनाउँछन् । परिवारको समस्या त परिवारभित्र नै मिलाउन सकिन्छ । मिलेन भने त्यहाँको समाजले मिलाउन सक्छन् । रिसको आवेगमा आएर बोलिएका कुराहरूलाई मुख्य कन्टेन्ट बनाएर भ्युज बढाउन चाहन्छन् । कसैको दुःख–पीडालाई युट्युबमार्फत् विश्व बजारमा बिक्री गरी कमाइखाने भाँडो बनाइरहेका छन् ।

युट्युबरले न देशको न्यायालय चिन्छ न कानून, आफ्नै तरिकाले अध्ययन अनुसन्धान गर्छ र फैसला पनि आफै गर्छ । जानेर वा नजानेर सञ्चार प्रविधिको दुरुपयोग गर्दै आफ्नै कोठामा बसेर लाइभ भिडियोमा फोन गर्दै मुद्दा मिलाउन चाहन्छन् । आफूले समाजमा ठूलै सेवा पु¥याएजस्तो, पीडितले पनि न्याय पाएजस्तो महसुस गरी आफ्नो भिडियोलाई लाइक, शेयर र सस्क्राइव गर्न अनुरोध गर्छन् । आफ्नो सम्पर्क नम्बर भिडियोको वालमा राखेर आवश्यक परे तु–सम्पर्क गर्नसमेत अनुरोध गर्छन् । ‘लौ छोराले आमालाई भुँडी बोकायो’ ‘बाउले आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरी हत्या गरेको खुलासा’ जस्ता अतिरञ्जित हेडलाइन राखेर आम नागरिकलाई भ्रममा पारेका छन् । प्रायः भिडियोहरू खोलेर हेर्दा हेडलाइन अनुसारको कन्टेन्ट कमै हुन्छन् । हाम्रो समाजले पनि यस्तै खाले भिडियोहरू खोजी खोजी हेर्न रुचाउँछ । यस्तै भिडियोका भ्युजहरू करोडौं पुगेको हुन्छ ।

कतिपय युट्युबरहरू विना जानकारी सरकारी कार्यालय तथा विद्यालयमा छिरेर त्यहाँका कर्मचारी तथा शिक्षकलाई नानाथरी प्रश्न गर्न थाल्छन् । केही कमी कमजोरी भेटेपछि सनसनीपूर्ण ढङ्गले भिडियो सार्वजनिक गर्छन् । उनीहरूले सार्वजनिक गरेको भिडियोको क्याप्सनमा शब्दैपिच्छे गल्ती देखिन्छ । यसरी अरूको मात्र कमी कमजोरी खोतल्दै हिँड्ने केही युट्युबरहरूले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन् । कुनै ठाउँमा घटना घट्नासाथ रातारात घटनास्थलमा पुगेर पीडित, पीडक र रमितेहरूसँग अन्तरवार्ता लिन थाल्छन् । घटना जतिसुकै जटिल किन नहोस् सूक्ष्म तरिकाले अध्ययन नै नगरी हचुवाको भरमा अतिरञ्जित सामग्री पस्किएर समाजलाई गलत बाटोमा डो¥याइरहेका छन् । पीडितको अज्ञानतामाथि फाइदा उठाउँदै उनीहरूको गोपनीयतासमेत भङ्ग गरिदिन्छन् । व्यक्तिको गोपनीयताको अधिकार र सामाजिक विकृति, विसङ्गतिप्रति पनि सचेत देखिँदैनन् ।

युट्युबरको व्यवस्थापन
युट्युबमार्फत् पत्रकारिता गर्ने व्यक्तिले नेपाल पत्रकार महासङ्घले बनाएको पत्रकार आचार–संहिता– २०७३ पालना गर्नुपर्छ । यस आचार–संहिताले पत्रकार तथा सञ्चार माध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने, साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटनाजस्ता कारणबाट सिर्जित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवम् तस्बिर सम्प्रेषण गर्नु हुँदैन । साथै बुँदा नं. ४ मा पत्रकार वा सञ्चार माध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा उनको आफन्तजनमा थप पिडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीतला प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र सङ्केतलगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन भन्ने उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा चरित्रहत्याको सामग्री राखेकै आधारमा विद्युतीय ऐन २०६३ को दफा ४७ प्रयोग गरी धेरै व्यक्तिलाई सरकारले समातिसकेको छ । उक्त दफामा भनिएको छ, ‘विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः कम्प्युटर इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’ यसैको आधारमा गत महिना झापाको एक होटलमा पत्रकार हुँ भन्दै दुई महिला र एक पुरुषले खाजा खाँदै गरेको बेलामा भिडियो खिचेर युट्युबमा चरित्र हत्या गर्ने गरी भाइरल बनाउने युट्युबरलाई कानूनी कारबाही भइरहेको छ ।

त्यसैगरी गाली बेइज्जती ऐन २०१६ को दफा ३ मा, बेइज्जती भन्नाले कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्ला भन्ने जानाजानी वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा सङ्केतले वा बुझिने गरी आकार वा चिह्नद्वारा सो व्यक्तिले कुनै दोष लगाएमा वा त्यस्तो कुरा सार्वजनिक गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिनेछ भनी परिभाषित गरेको छ । कसैलाई गाली वा बेइज्जत गरेको ठहरिएमा गाली वा बेइज्जत गरिएको व्यक्तिलाई निजको सामाजिक प्रतिष्ठा र इज्जतसमेतलाई विचार गरी मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट मनासिव माफिकको रकम क्षतिपूर्तिको रूपमा भराइदिने र त्यस्तो व्यक्तिलाई कसुरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउने व्यवस्था छ ।

कुनै पनि युट्युबरहरू मिडियामा बोल्दाखेरी पत्रकार आचार–संहिता, पत्रकारिताको सामान्य सिद्धान्त र दायरा अध्ययन गरेर, प्रमाणहरू जुटाएर मात्र बोल्नु प¥यो । आफ्नो अधिकार र जिम्मेवारीप्रति पूर्णरूपमा सचेत भएर मात्र यो क्षेत्रमा लाग्नुप¥यो । पारिवारिक झगडालाई लिएर व्यक्तिको चरित्रहत्या गर्दै समाजमा विकृति र विसङ्गति फैलाएमा युट्युबरबाट शिकार बन्न पुगेका पीडितले आफ्नो अस्तित्व रक्षाको लागि सम्बन्धित निकायमा साइवर कानून अन्तर्गत मुद्दा चलाएर नियन्त्रण तथा व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

अन्तमा,
सबै युट्युबर खराब हुँदैनन्, केही युट््युबर जेन्युइन पनि छन् । जो समाज र राष्ट्रको लागि राजनैतिक गतिविधि सार्वजनिक नीति, विकृति विसङ्गति र भ्रष्टाचारसम्बन्धी विश्लेषण वा रिपोर्टिङ गर्छन् । विकसित प्रविधिको सही प्रयोग गर्दै पत्रकारितामा प्रवाह गर्ने सूचना सत्य–तथ्यमा आधारित रहेर देश विकासका लागि हरेक क्षेत्रमा रहेको समस्याको समाधान गर्न सक्ने क्षमता हुनुपर्छ । प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा आएका केही विकृति विसङ्गतिलाई सहज र सामाजिक तथा देश विकासका निम्ति सकारात्मक रूपमा सदुपयोग गर्नु पर्दछ । प्रविधिलाई दुरुपयोग गरी व्यापार गर्नेहरूलाई सरकारले अनलाइनसम्बन्धी आवश्यक कानून बनाएर चाँडोभन्दा चाँडो नियन्त्रण गर्नु पर्दछ ।