विजयपुर । एक नम्बर प्रदेशसभा सदस्य उमिता बराइली मानसिक रोग विभागमा उपचाररत एक बिरामीलाई भेट्न र सहयोग गर्नका लागि भनेर शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन् । तर, उनलाई सुरुमा अस्पताल निर्देशकको अनुमति चाहिने भन्दै भेट गर्न दिइएन । केही अधिकारकर्मी सहित प्रतिष्ठान पुगेकी उनले २ घण्टापछि मात्र बिरामी भेट्न पाइन् । त्यो पनि लामो प्रयासपछि । बिरामी भेट्नका लागि प्रदेश सांसद्ले त २ घण्टा पर्खनुपर्यो भने सामान्य व्यक्तिको अवस्था के होला ?

प्रतिष्ठानमा बिरामी भेट्न जानेहरूले अचेल यस्तै समस्या भोग्नु पर्छ । बराइली मोरङको कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्तीकी शोभा दर्जी भनेर चिनिने डुक्का तामाङ दर्जीलाई आर्थिक सहयोग गर्दै स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि पुगेकी थिइन् । उनीसहित विभिन्न सङ्घ–संस्थामा रहेर काम गर्ने व्यक्तिहरू प्रतिष्ठान पुगेका थिए । वराह ज्वलेर्सका गङ्गा कालीकोटे, विश्वकर्मा कल्याण समाजका सचिव सुमन गहतराजसहित केही सञ्चारकर्मी गएका थिए । प्रतिष्ठानमा पुगेर बराइलीले सुरक्षाकर्मीलाई यथार्थ बताइन् ।

त्यसपछि सुरक्षा गार्डले विभागमा रहेकी एक स्वास्थ्यकर्मीलाई बोलाए । ती स्वास्थ्यकर्मीलाई पनि सांसद्ब राइलीले आफ्नो परिचय दिँदै सहयोग गर्न आएको बताइन् । उनी पनि एकछिनमा अरू निस्किएपछि पस्नू भनेर आफ्नो कार्यकक्षतिर लागिन् । उनीहरू सबै सरकारले निर्धारण गरेको न्यूनतम् स्वास्थ्यका मापदण्ड पूरा गरेर गएका थिए । पर्खिएको केही समयपछि भित्रबाट ‘अस्पताल निर्देशकबाट अनुमति लिएर आउनू’ भन्ने खबर आयो ।

त्यसपछि सांसद् बराइली पनि भित्र प्रवेशका लागि प्रयास गर्न थालिन् । व्यवसायी गङ्गा कालीकोटेले सुरक्षा गार्डका सुपरभाइजरलाई सम्पर्क गरे । तर, उनको प्रयास पनि काम लागेन । त्यसपछि प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेललाई सम्पर्क गरियो ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न र केही आर्थिक सहयोग गर्न प्रदेश सांसद् आएको जानकारी दिएपछि पोखरेलले विभाग प्रमुखसँग समन्वय गर्ने बताए । लामो प्रतिक्षापछि मानसिक विभागका प्रमुख वैकुण्ठ अधिकारी आए ।

उनले गेटबाहिर बसिरहेका सांसद् तथा अधिकारकर्मीलाई झर्केको शैलीमा भने, ‘तपाईंहरू आराम गर्नू, आराम गर्नू ।’ बिरामीको सहयोगका लागि गएका सुमन गहतराजले बिरामी हेर्नसमेत नदिइनु राम्रो नभएको बताए । प्रतिष्ठानमा उपचारत बिरामीलाई हेर्नका लागि अस्पताल निर्देशकको अनुमति लिने कुरा व्यावहारिक नभएको उनले बताए ।

व्यवसायी गङ्गा कालीकोटेले अस्पतालमा बिरामी हेर्नलाई अनुमति लिनुपर्ने वा पालो भए पनि बिरामी हेर्न र भेट्न नपाएको पहिलो घटना भएको प्रतिक्रिया दिए । प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेलले विषम परिस्थितिले गर्दा प्रवेशमा रोक लगाएको हुनसक्ने बताए । तर, प्रतिष्ठानको मानसिक विभागमा बिरामी भेट्न नदिइएको यो पहिलो घटना भने होइन ।

यसअघि पनि दलित महिला सञ्जालले सहयोग गर्न जाँदा बिरामीलाई हेर्न पाएका थिएनन् । पहिले भने उक्त विभागमा पनि निर्देशकको अनुमति लिएर प्रवेश गर्नुपर्ने नियम थिएन । हाल प्रतिष्ठानको बेथिति विरुद्ध आवाज उठ्न थालेपछि आफन्तले बिरामी हेर्न पनि अस्पताल निर्देशकको अनुमति लिनुपर्ने अवस्था सिर्जना भएको छ ।