धरान/ स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिका लागि नाम कमाउँदै गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र केही वर्षदेखि व्यवस्थापन पक्षको गैरजिम्मेवारीपूर्ण क्रियाकलाप, राजनीतिक हस्तक्षेप र आर्थिक अनियमितता बढेपछि प्रतिष्ठानको साख जोगाउने चुनौती थपिएको छ ।
प्रतिष्ठानभित्र भएका अनियमितता बारे केही समययता लगातारजसो समाचार सार्वजनिक भइरहेका छन् । प्रतिष्ठानका अक्सिजन प्लाण्ट, एचडियू, कोभिड अस्पतालदेखि हरेकजसो स्वास्थ्य उपकरण खरिदमा विवाद उत्पन्न हुने गरेको छ ।
अर्कातिर प्रतिष्ठानको स्वास्थ्य सेवामा लापरबाही हुने गरेको गुनासो बढ्दो छ । कतिपय बिरामीलाई ल्यावले दिने गलत रिपोर्ट, पटक–पटक बिग्रिइरहने मेडिकल उपकरण, समयमा उपचार नपाउनु, कतिपय स्वास्थ्यकर्मीका व्यवहारजस्ता कारणले पनि ‘प्रतिष्ठानमा राम्रो उपचार हुँदैन’ भन्ने सन्देश फैलिँदो छ ।
राजनीतिले अस्त–व्यस्त
बीपी प्रतिष्ठान एउटा स्वायत्त संस्था हो । जनशक्ति, आर्थिक, भौतिक स्रोतमा धनी मानिने यो प्रतिष्ठानको व्यवस्थापन पक्ष मात्र सुधार्ने हो भने यसको साख उकास्न धेरै समय लाग्दैन । किनभने यो प्रतिष्ठानभन्दा निकै पछि स्थापना भएका नोवेल, विराट जस्ता निजी अस्पतालहरू कहाँदेखि कहाँ पुगिसकेका उदाहरण छन् ।
तर, यो प्रतिष्ठान दिन प्रतिदिन अस्त–व्यस्त बन्न थाल्नुमा यहाँका पदाधिकारीहरू दक्षताको आधारमा भन्दा पनि आफन्तवाद, कमिसनवाद र राजनीतिक आस्थाका आधारमा नियुक्ति हुनु मुख्य समस्या देखिएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति भएको बेला उपकुलपतिमा नियुक्ति पाएका प्रा.डा.बलभद्र दासको पालादेखि प्रतिष्ठानमा अनियमितता बढेर व्यवस्थापन पक्ष अस्त–व्यस्त बन्न थालेको हो । उनीपछि आएका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियारले स्ट्रिङ अप्रेसन गरेर पक्राउ गरेपछि उनी निलम्बनमा परेका थिए ।
वर्तमान उपकुलपति डा.ज्ञानेन्द्र गिरी दुई वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोडबलमा नियुक्त भएका थिए । चुनावमा ढकाललाई खुलेर सहयोग गरेका गिरीलाई त्यही सहयोगको गुण तिर्न उपकुलपति बनाइएको चर्चा चल्ने गरेको छ ।
ठेक्कापट्टामा मिलेमतो
मुख्य पदाधिकारीहरूले नै ठेक्कापट्टाबाट आउने कमिसन र कुर्सीका लागि ऐन कानूनको बेवास्ता गर्दा प्रतिष्ठानको सिष्टममै खराबी आएको छ । त्यसको प्रत्यक्ष असर बिरामीको उपचार सेवामा पर्छ । जस्तैः प्रतिष्ठानको अक्सिजन प्लाण्ट ठेकेदार डाइग्नोकेम इण्टरनेसनलको लापरबाहीले सम्झौता भन्दा चार वर्ष ढिलो निर्माण भयो ।
ढिलो गर्नेलाई कारबाही गरी क्षतिपूर्ति तिराउनु पर्ने र कालोसूचीमा राख्नु पर्ने कानूनी व्यवस्था रहे पनि प्रतिष्ठानकै पदाधिकारी र केही कर्मचारीको मिलेमतोमा कारबाही गरिएन, बरु उल्टै मर्मतका नाममा भुक्तानी थपियो । पाँच वर्षको ग्यारेण्टी रहेको अक्सिजन प्लाण्टमा समस्या आउँदा जेठ पहिलो साता बिरामीले सास्ती भोग्नुपर्यो ।
त्यस्तै प्रतिष्ठानमा एचडियु कक्षको सामान आपूर्तिका लागि ऐन विपरीत ठेक्का पाएको ‘द मेडिकल सोलुसन प्रालि’ ले समयमा कबोल बमोजिमका सामान ल्याएन । पहिला पनि तोकिएको सामान नल्याउने सो कम्पनीलाई कारबाही गर्नुको साटो कानून मिचेर ठेक्का दिइयो । आवश्यक सम्पूर्ण सामान नहुँदा एचडियु कक्ष राम्रोसँग सञ्चालन हुन सकेन । त्यसको मार बिरामीले खेप्नु परिरहेको छ ।
त्यसो त सरकारले प्रतिष्ठानको कोभिड अस्पतालका लागि छुट्टै अक्सिजन प्लाण्ट निर्माण गर्न २ करोड बजेट दिएको थियो । प्लाण्ट निर्माणका लागि टेण्डरसमेत आह्वान भएकोमा दुई महिनाअघि टेण्डर रद्द गरियो । प्लाण्ट बनेको भए प्रतिष्ठानमा पर्याप्त अक्सिजन हुन्थ्यो र बिरामीले समस्या भोग्नुपर्ने थिएन । अनि बाहिरबाट अक्सिजन किन्नु पर्ने पनि थिएन ।
केही महिनाअघि प्रतिष्ठानमा पदाधिकारी, कर्मचारी र ठेकेदारको मिलेमतोमा गुणस्तरहीन स्प्रिट किनियो । सङ्क्रमण फैलिन नदिन प्रयोग गरिने स्प्रिट नै नक्कली भएपछि कति बिरामीलाई सङ्क्रमण फैलियो होला ?
यी र यस्ता बदमासीमा प्रतिष्ठानका खरिद, गुणस्तर र स्टोर शाखाका प्रमुखहरूदेखि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा.गौरीशङ्कर साहसम्मको संलग्नता देखिन्छ । बदमासी गर्ने अरूलाई कारबाही गर्ने अधिकारीहरू नै यस्ता धन्दामा संलग्न भएपछि प्रतिष्ठानको साख जोगाउनै मुस्किल भएको छ । प्रतिष्ठानमा देखिएका यस्तै विकृति विसङ्गति अन्त्य गर्ने उद्देश्यसहित गठन भएको धरान नागरिक दबाव सञ्जालले जेठ २४ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, कमिसन, दलाली र बिचौलियाको दबदबाले संस्था रुग्ण हुँदै गएको छ ।’
बीपी प्रतिष्ठानलाई धरानको गौरवका रूपमा पनि लिइन्छ । कुनै समय ‘मृत सहर’ भन्ने गरिएको धरानलाई जीवन दिन यही संस्थाको महत्वपूर्ण योगदान छ । धरानलाई चलायमान बनाउन भूमिका खेल्ने यो संस्था अहिले आफै सङ्कटमा छ । हालै गठित सञ्जालका संयोजक सह–प्राध्यापक डा.राजेन्द्र शर्मा भन्छन्, ‘आम नागरिकमा उपचार सेवा पुर्याउनु पर्ने प्रतिष्ठान आफै भ्रष्टाचार, अनियमितता र बेरुजुको शिकार भएपछि यसलाई जोगाउन सञ्जाल बनाएका हौं । यसमा सबैको सहयोग आवश्यक छ ।’
अलपत्र भवन
सरकारले प्रतिष्ठानमा ४ सय शय्याको मातृशिशु स्वास्थ्य केन्द्र, २ सय शय्याको मुटुरोग उपचार केन्द्र र २ सय शय्याको क्यान्सर रोग विभाग निर्माण गर्ने घोषणा गरेको धेरै वर्ष भयो । तर, अनियमितताका कारण बन्दै गरेका भवनसमेत अलपत्र छन् ।
प्रतिष्ठानमा भएका अनियमितता छानबिन गर्न २०७५ सालमा सरकारले केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार मातृशिशु स्वास्थ्य केन्द्र भवनको ठेक्का दिँदा र परामर्शदाता नियुक्त गर्दा सार्वजनिक खरिद ऐन विपरीत काम भएको छ । प्रतिवेदनमा भनिएको छ, ‘बोलपत्रसम्बन्धी कागजातको समग्र विश्लेषण गर्दा विज्ञ परामर्शदाताले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक निर्वाह नगरेको देखिन्छ ।’
ब्रिटिस गोर्खा सैनिकमा भर्नाका लागि २०१० सालमा धरानमा मुख्य भर्ती केन्द्र (घोपा क्याम्प) खोलिएको थियो । २०४५ सालपछि भर्ती केन्द्र पोखरा सरेपछि सो स्थानमा क्षेत्रीय अस्पताल बन्यो । संसद्ले २०४९ माघ ५ गते स्वशासित संस्थाका रूपमा प्रतिष्ठानको ऐन पारित गरेपछि तत्कालीन सरकारले २०५० साउन १ का दिन १ सय ५० शय्याको पूर्वाञ्चल क्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो ।
२०५० फागुन २६ का दिन नेपाल र भारतका प्रधानमन्त्रीले प्रतिष्ठानलाई ३ सय ५० शय्याको एक अस्पताल र ५० जनालाई अध्ययन गर्न सक्ने मेडिकल कलेज बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ कात्तिक २ गते ३ सय ५० शय्याको अस्पतालको शिलान्यास र एमबीबीएस कक्षाको उद्घाटन गरेका थिए । त्यसपछि प्रतिष्ठानले आइसियु, सिसियु र अब्जर्वेसनलगायतका कक्ष विस्तार गरेर अस्पताल सञ्चालनमा ल्यायो । नयाँ अस्पताल भवनको निर्माणपछि अस्पतालको क्षमता ६ सय ४६ शय्या पुग्यो ।
हाल प्रतिष्ठानमा ८ सय १३ शय्या सञ्चालनमा छन् भने ४ सय शøयाको मातृशिशु स्वास्थ्य केन्द्र, २ सय शøयाको मुटुरोग उपचार केन्द्र र २ सय शय्याको क्यान्सर रोग विभाग निर्माण पूरा भए प्रतिष्ठानमा १ हजार ६ सय भन्दा बढी शय्या हुनेछन् । तर, ती भवन कहिले बनिसक्लान् ? यसको जवाफ कसैसँग छैन । उपकुलपति गिरी भने सरकारसँग यी भवन निर्माणका लागि पहल गरिरहेको बताउँछन् ।
अहिले प्रतिष्ठानमा उपचारका लागि पूर्वका अधिकांश जिल्लासँगै भारत र देशका अन्य भागबाट समेत बिरामीहरू आउने गरेका छन् । उपचारका लागि सबैजसो विभागमा बिरामीको चाप दैनिक थपिँदो छ । अत्यधिक भीडभाड हुँदा उपचारमा चिकित्सकहरूको पर्याप्त ध्यान पुग्न नसकेको बिरामीहरूको गुनासो हुने गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशङ्कर साह भन्छन्, ‘उपचार गराउने धेरै हुँदा समस्या छ तर, विस्तारै समाधानको उपाय पनि खोजिरहेका छौं । सुधार पनि भइरहेको छ ।’
प्रतिष्ठानका शिक्षाध्यक्ष डा.गुरुप्रसाद खनाल प्रतिष्ठानमा उत्पादित जनशक्तिले विश्वमा सेवा पुर्याइरहेको र यहाँ राम्रो अध्ययन अनुसन्धान पनि भइरहेको तर, सकारात्मकभन्दा नकारात्मक कुरा बढी फैलिएको बताउँछन् । उनी भन्छन्, ‘केही नराम्रा कुरा बढी प्रचारमा आउँदा धेरै राम्रा कुरा ओझेलमा परेका छन् । हरेक ठाउँमा समस्या हुन्छ, त्यसलाई सबै मिलेर समाधान गर्न सकिन्छ । ’
यो राजनीतिक अखडा होः उपकुलपति
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी अस्पतालका विषयमा आफूलाई पनि धेरै गुनासाहरू आउने गरेको र त्यसलाई आफूले पहिलाभन्दा सुधार गर्दै लगेको दाबी गर्छन् ।
उपकुलपति गिरी प्रतिष्ठान देशकै एक नम्बर राजनीतिक अखडाका रूपमा रहेको बताउँछन् । जेठ २६ मा प्रतिष्ठानले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यो संस्था देशमै एक नम्बर राजनीतिक अखडा हो ।’ तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चुनावमा सहयोग गरे बापत उपकुलपति पद प्राप्त गरेको भनेर गिरीमाथि नै आरोप लाग्ने गरेको छ । ढकालको चुनाव प्रचारमा खुलेर लागेका गिरीलाई २०७६ चैत २७ मा अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै नियुक्ति दिइएको थियो । उनी आफै राजनीतिको सिँढी चढेर नियुक्त भएका थिए । तर, अहिले उनी आफै प्रतिष्ठान राजनीतिक अखडा भएको दाबी गर्छन् । उनी भन्छन्, ‘यहाँको राजनीति मिनिमाइज गर्ने योजना बनाएको छु तर, त्यसका लागि अझै २ वर्षको समय चाहिन्छ ।’
उनी प्रतिष्ठानमा भएका समस्यामा आफूले सुधार ल्याएको दाबी पनि गर्छन् । पत्रकार भेटघाटमा उनले आफ्नो कार्यकालमा प्रतिष्ठानको उपचार सेवादेखि सम्पूर्ण समस्या सुधार गरेको दाबी गरे । उनी आफूले अनियमितता नगरेको र आफूभन्दा अगाडि कसले के ग¥यो भन्ने बारे थाहा नभएको बताउँछन् । तर, उनलाई एउटा चिन्ता चाहिँ रहेछ । उनी भन्छन्, ‘पहिलाका साथीहरूले पनि अख्तियार धाउनुपरेको छ । मेरो पनि त्यही हाल होला भन्ने चिन्ता छ ।’
(धरान उपमहानगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार पारिएको रिपोर्ट ।)