शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताए छ । 

काठमाडौैंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए । चिकित्सालयमा  भेन्टिलेटरसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ श्ययाको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा उनले प्रशंसा गरे । 

सो अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताए ।

काठमाडौँ महानगरपालिका– १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखे । 

महानगरले सो अस्पतालमा पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्च वापत् रु करीब ४८ लाख १६ हजार ६ सय ५७ दिँदै आएको छ ।