इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । ४ वर्ष अघिको तुलनामा आरक्षमा १२ दशमलव ९ प्रतिशतले अर्नाको संख्या बढेको छ । 

५७ वटाको संख्यामा अर्ना बढेसँगै कोशी टप्पु भित्र अर्नाको कुल संख्या ४ सय ९८ पुगेको छ ।  २०७४ सालमा आरक्ष भित्र ४ सय ४१ वटाको संख्यामा अर्ना पाइएको थियो । 

आरक्ष स्थापनाताका २०३२ सालमा कोशी टप्पुमा ६३ वटाको संख्यामा अर्ना रहेका थिए । त्यसयता क्रमशः अर्नाको संख्यामा वृद्धि हुँदै गएको छ । 

कोशी टप्पु विश्वमै दुर्लभ वाइल्ड वाटर बफेल्लो (अर्ना) कालागि प्रख्यात छ । आरक्षको कार्यालयले दुर्लभ अर्नाको संख्यामा हुदै गएको वृद्धिलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको जनाएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले बैशाख ६ देखि ११ गते सम्म लगाएर सम्पन्न गरेको गणना प्रतिवेदन सार्वजनिक गर्दै संख्यात्मक वृद्धि लगायतको विषयमा जानकारी दिएको हो । 

सार्वजनिक प्रतिवेदन अनुसार आरक्षमा वयश्क भाले अर्नाको संख्या २ सय २१ वटा रहेको छ । त्यसैगरी वश्यक पोथी अर्ना १ सय ६२ वटा र अर्ध वयश्क अर्ना ४८ वटाको संख्यामा रहेको छ । 

आरक्ष भित्र दुई वर्ष उमेर सम्मको अर्नाको बच्चा ३५ वटाको संख्यामा रहेको जनाएको कोशी टप्पु वन्यजन्तु आरक्षले अर्ना गणनाको क्रममा एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको जनाएको छ ।  

आरक्षले आयोजना गरेको गणना प्रतिवेदन सार्वजनिक कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी लगायतको उपस्थिति रहेको थियो । 

कार्यालयले अर्नाको संख्यामा वृद्धि हुँदै गएपनि संरक्षणमा भने समस्या थपिदै गएको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार खुल्ला चरिचरण र छाडा चौपायाका कारण अर्नाको जिन संकटमा परेको छ ।

साथै सांघुरिदै गएको संरक्षित क्षेत्र र मानवीय अतिक्रमण जस्ता कारणले अर्ना सहितका जंगली जनावरको वासस्थान संकटमा पर्दै गएको छ ।  

आरक्षको कार्यालयले बैशाखको ६ गतेबाट ११ गते अर्ना गणना गरेको थियो ।