भण्टाबारी। धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका राजकुमार सिंह भारतीय नागरिक रहेको भारतीय प्रहरीले पनि पुष्टि गरेको छ । सिंहको विषयमा अहिले भारतीय प्रहरीले पनि छानबिन गरिरहेको छ । 

ब्राउनसुगरसहित पक्राउ परेपछि उनको नागरिकता जाँच गर्दा कीर्ते गरी नेपाली नागरिकता लिएको घटना बाहिर आएको थियो । उनले सप्तरीको साविक पकरी गाविसको २ नम्बर वडाबाट नागरिकता लिएको देखिन्छ ।

ब्राउनसुगर मुद्दामा नेपाल प्रहरीले सप्तरी हुँदै भारतसम्म पुगेर अनुसन्धान थालेको थियो । भारतको भीमनगर ओपीमा कार्यरत सब इन्स्पेक्टर शत्रुघनप्रसाद शाहले सप्तरी प्रहरीको आग्रहमा सिंहको नागरिकताको विषयमा छानबिन थालिएको जानकारी दिए ।

नेपाल भारतका सुरक्षाकर्मीबीच हुने बैठकअनुसार भारतीय प्रहरीले नेपाल प्रहरीलाई सहयोग गरेको बताउँदै छानबिनका क्रममा सिंह भारतीय भएको भनी पुष्टि भएको समाचार स्थानीय सञ्चारमाध्यम प्रकाशितसमेत भएको थियो । 

नेपाली प्रहरी टोलीले सिंहकी जेठी पत्नी कान्तीदेवीसँग समेत सोधपुछ गरेको बताइन्छ । अहिले पुर्पक्षमा रहेका सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट हालको महादेवा गाउँपालिका (साविक पकरी गाविस–२) १ मा जन्मिएको भनी ठाकुरप्रसाद सिंहलाई बाबु बनाई सिंहले नेपाली नागरिकता लिएका थिए । सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत–१० का स्थायी बासिन्दा हुन् भने उनको बाबु वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ ।

२०४६ साल वैशाख १० गते जारी गरिएको उनको नेपाली नागरिकता नम्बर ०७३९३११३ रहेको छ । तर, उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावली समेत रहेको छ ।

२०२१ फेब्रुअरी ५ तारिखमा उनको भारतीय निर्वाचन आयोगमा मतदाता परिचयपत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको थियो । सिंहले ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई नागरिकता लिएका थिए । ठाकुरप्रसाद पनि भारतीय नागरिक नै रहेको खुलेको छ ।