भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७० हजार कोरोना संक्रमित थपिएका छन् । संक्रमणको तीव्रतापछि प्रशासनले लकडाउन र कर्फ्यु लगाएको छ ।

महाराष्ट्रमा रात्रि कफ्र्युको समय २ साताका लागि लम्ब्याइएको छ । महाराष्ट्रमा हिजो एकै दिन २५० भन्दा बढीकोे मृत्यु भएपछि त्यहाँको राज्य सरकारले रात्रि कर्फ्यूको समय लम्बाएको हो । महाराष्ट्रमा हिजो एकै दिन ५१ हजार ७ सय बढी कोरोना संक्रमित पुष्टि भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण दर उच्च भएको छ । त्यहाँ एकै दिन ७२ जनको मृत्यु भएको छ भने संक्रमितको संख्या दर १२ दशमलव ४४ पुगेको छ । जवकि अघिल्लो महिना संक्रमित दर १२ दशमलव ९ प्रतिशत थियो । भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

मध्यप्रदेशको भोपालमा बेलुकी ९ बजेदेखि बिहान ६ बजे सम्म पूर्णरुपमा लकडाउन घोषणा गरिएको छ । भोपालमा एक सातका लागि लकडाउन घोषणा गरिएको छ । लकडाउनको अवधिमा जिल्लाको अस्पताल, औषधि पसल मात्रै खुल्ने छ । खाद्यान्न पसलदेखि अन्य व्यापारिक गतिविधिमा पूर्णरुपमा रोक लगाइएको छ ।

थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा संक्रमितको संख्या दिनानु दिन १५ हजारको हाराहारीमा रहने गरेको छ । भारतमा हालसम्म एक करोड ३६ लाख ८६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । १ लाख ७१ हजारको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा करिब १० करोड मानिसलाई कोरोनाको खोप लगाइएको छ ।