कोरोना संक्रमति दमक निवासी एक जना पुरूषको मृत्यु भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले सोमबार कोभिड अस्पताल निरीक्षण गरेकी छन् । 

मन्त्री राईले विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र निरीक्षण गर्दै विरामीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन् । मन्त्री राईले प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको बताइन् । 

उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको जानकारी दिइन् । आवश्यकताअनुसार  जिल्ला स्तरमा पनि आवश्यकता अनुसार कोभिड अस्पताल तयारी राख्न मन्त्रीले राईले निर्देशन दिइन् ।

सीमा नाकामा आवश्यक सतर्कता अपनाउनका लागि निर्देशन दिइएको समेत उनले बताइन् । 

‘कोभिडका बिरामीका लागि उपचारको प्रबन्ध मिलाइएको छ,’ मन्त्री राईले भनिन्, ‘उपचारमा कुनै कमी हुनु भएन, कतैबाट गुनासो आउनु भएन ।’ 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनले जानकारी दिए । ‘देशव्यापीमा वृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ,’ उनले भने । 

कोरोनाको पुनरावृत्ति भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । 

आवश्यकता अनुसार आइसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेशस्तरीय सीसीएमसीको बैठक बस्ने तयारी भइरहेको उनले बताए । 

संक्रमितको मृत्यु

विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरूषको उपचारको क्रमममा मृत्यु भएको छ । झापाको दमक नगरपालिका ८ का ९२ वर्षीय वृद्धाको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो । 

कोशीको कोभिड अस्पतामा मृत्यु भएको संक्रमितलाई २५ चैतमा विराटनगरस्थित नोबेल मेडिकल कलेजले रिफर गरेको थियो । सुगर र स्वासप्रश्वासमा समस्या भएका ती संक्रमितको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेण्डेन्ड डा. चुमनलाल दासले जानकारी दिए । 

डा. दासका अनुसार कोभिड अस्पतालमा अहिले दुई जना संक्रमित भर्ना भएका छन् । उनीहरूको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको दासले जानकारी दिए । 

दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।