बिर्तामोड (ब्लाष्ट) झापाको बीएन्डसी मेडिकल कलेजले अति विपन्न १ सय परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ । 

अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका परिवारको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको हो ।

बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बिमा गरिदिने बताए । प्रसाईंले विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर बिमा गरिने जानकारी दिए ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममार्फत् पैसावालाले फाइदा लिइरहेकाले विपन्न वर्गका नागरिकको स्वास्थ्य बिमा गरिन लागेको प्रसाईंको भनाइ छ । अस्पतालको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिमा गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।