धनकुटाको महालक्ष्मी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । 

वार्षिकोत्सवका अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा जनता मावि जितपुर प्रथम, नवीन शिक्षा सदन डाँडागाउँ दोस्रो र सरस्वती मावि कटहरे तेस्रो भएका छन् । 

प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमसः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् । 

संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु कार्की, प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी लगायतले उनीहरुलाई पुरस्कृत गरेका छन् ।

त्यस्तै, वार्षिकोत्सवकै अवसरमा ३२ जना जग्गा दाताहरुलाई पनि सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका तथा नगरपालिका अन्तर्गतका अस्पताल, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुलाई निःशुल्क जग्गा प्रदान गर्नेहरुलाई सम्मान गरिएको महालक्ष्मी नगर प्रमुखका सचिवालय प्रमुख विष्णु दाहालले जानकारी दिए ।

त्यसैगरी, नगर क्षेत्र भित्रका १७ वटा माध्यमिक विद्यालयलाई एक–एक वटा भलिबल र नेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।