इटहरी। मोरङको रानी–विराटनगर–इटहरी–धरानसम्मको ६ लेन सडक विस्तार आयोजनाविरुद्ध मुद्दाको चाङ लागेको छ ।

सडक विस्तार आयोजनालाई दुहबी बजारका घरधनी र इटहरी बजारका घरधनीहरूले विशेष अदालत र सर्वोच्च अदालतमा गरी दुई दर्जनभन्दा बढी मुद्दा हालेका छन् । 

६ लेन सडक आयोजना अन्तर्गत दुहबीदेखि तरहरासम्म ४ सय ५ वटा घर भत्काउनु पर्ने देखिएको छ । इटहरी क्षेत्रमा १ सय ९७ र दुहबी क्षेत्रमा २ सय ८ वटा घर सडकको जग्गामा रहेका छन् । तर, अधिकांश घरधनीले अदालतबाट स्टे – अर्डर ल्याएको कारण सडक विस्तार कार्य ठाउँ–ठाउँमा रोकिन पुगेको छ । 

सडक विस्तार अभियान तीव्र गतिमा नहुँदा मुख्य सडक आसपास व्यापार गर्ने व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । तर, ६ लेन सडक विस्तार आयोजनाको पनि आफ्नै खालका गुनासाहरू रहेका छन् । सडकको जग्गाभित्र बनेका भौतिक संरचना बारम्बार हटाउन निर्देशन दिँदा पनि कसैले नटेरेको आयोजनाले जनाएको छ । ‘अधिकतम् लचकता अपनाएर भए पनि सडक विस्तार गर्न लागिपरेका छौं’ –आयोजना प्रमुख बद्रीप्रसाद शर्माले भने । 

उनले इटहरी चोक र दुहबीमा भने सडकको ‘राइट अफ द वे’ मा समस्या भइरहेको बताए । ‘अदालतमा उजुरी परिहाल्छ यसलाई सामान्य लिनुपर्छ’ शर्मा भन्छन्, ‘ अहिले उच्च अदालत र सर्वोच्चमा गरेर २० वटा मुद्दा खेपिरहेका छौं ।’ उनका अनुसार मुद्दामा तारेख धाइरहनु परेको छ ।

आयोजनाले स्थानीय पालिका तथा वडास्तरमा समेत समन्वय गरेर काम गरिरहेको भए पनि सडक विस्तारमा स्टे–अर्डर आउँदा समस्या भएको उनले बताए । अझै पनि घरधनीहरूसँग अधिकतम् लचकता अपनाउँदै सडक निर्माण गर्न अघि बढिरहेको आयोजना प्रमुख शर्मा बताउँछन् । 

महिनामै ४ पटक आन्दोलन

६ लेन सडक विस्तार कार्य इटहरी क्षेत्रमा ढिलाइ भएको भन्दै स्थानीय व्यापारीहरूले बारम्बार आन्दोलन गर्दै आएका छन् । फागुन महिनामा मात्र इटहरी विराटनगर लाइनका व्यापारी र धरान लाइनका व्यापारीले ४ पटक राजमार्ग अवरुद्ध गरे ।

सडकको धुलोले व्यापारीहरूको कन्तबिजोक भएको उनीहरूको गुनासो छ । इटहरी बजार आसपासमा फागुन महिनामा मात्र चार पटकभन्दा बढी सडक अवरुद्ध भयो । ६ लेन सडकको काम तीव्र गतिमा हुन नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोका कारण व्यापारीहरू मारमा पर्दै आएका छन् ।

त्यस्तै धरानको मुख्य सडकका करिब एक हजार घरहरू आधाउधी भत्कने भएका छन् ।

धरानको तीनकुनेदेखि मुख्य सडक हँुदै बेसक्याम्पसम्ममा १ हजार घर भत्किन सक्ने ६ लेन सडक विस्तार आयोजना इटहरीले जनाएको छ ।

राजमार्गमा पर्ने घर भत्काइने र उनीहरूले घरको क्षतिपूर्ति पाउनेछन् । तर, जग्गाको क्षतिपूर्ति भने पाउने छैनन् । तीनकुनेदेखि बेसक्याम्पसम्मको ५ किलोमिटर बाटो फराकिलो बनाउँदा १ हजार घरमा प्रत्यक्ष क्षति पुग्ने आयोजनाले जनाएको छ । 

इटहरी–धरान ४ लेन मात्र

इटहरी–धरान सडक ४ लेनको मात्र हुनेछ । चारकोसे जङ्गल क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काटेर सडक विस्तार भइरहेकोे छ । राजमार्गमा पर्ने करिब एक हजार रुख कटान गरिसकेको छ । तरहरादेखि धरानसम्म चारकोसे झाडीको ९ किलोमिटर सडकको काम सुरु भएको हो ।

सडकको दायाँ–बायाँ ११.५ र ११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । आयोजना प्रमुख बद्रीप्रसाद शर्माका अनुसार जङ्गलमा ड्रेन र फुटपाथ बनाउनु नपर्ने भएको हुँदा सोही मापदण्डमा सडक विस्तार हुने भएको हो ।