धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर पालिकाभित्रका एकल जातीय संस्थाका प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी तथा खेलाडी र कार्यालयलाई जमिन उपलब्ध गराउने दातालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

जमिन दान गर्ने १० जना, ८ स्वास्थ्यकर्मी, २ शिक्षक, ५ विद्यार्थी, ३ वडाका खेलाडी, ३ विद्यालय, ५ निबन्धकार र विभिन्न १० वटा नृत्य तथा जातीय झाँकीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

छथरजोरपाटी गाउँपालिकाले सामुदायिक भवनका लागि जमिन दान गर्ने वडा नं.४ का भवानी लिम्बू, खेलमैदानका लागि जमिन दान दिने वडा नं. ५ का गणेशबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । 

Chhathar_Jorpati_Barshik_Utsav1

त्यसैगरी आदिवासी सामुदायिक हल बनाउन जमिन दान गर्ने वडा नं. ४ की आशमती लिम्बू, ५ बेडको अस्पताल प्रयोजनका लागि जमिन दान गर्ने वडा नं.६ का गणेश श्रेष्ठ, गजेन्द्र श्रेष्ठ, मनमाया श्रेष्ठ र खड्गकुमारी श्रेष्ठलाई पनि सम्मान गरिएको छ । 

त्यस्तै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि जग्गा दान गर्ने वडा नं. ५ का ढकालसिंह लिम्बूलाई सम्मान गरिएको छ ।

त्यस्तै गाउँपालिकाले खोप केन्द्र निर्माणका लागि जमिन दान गर्ने वडा नं.५ का टंकबहादुर लिम्बू र ताँखुवा सामुदायिक भवन निर्माणका लागि जमिन दान गर्ने वडा नं. ३ का निरा सम्बाहाम्फेलाई सम्मान गरेको छ । 

गाउँपालिकाले शिक्षा तर्फ २०७६ सालमा गणित विषयमा उत्कृष्ट अंक ल्याउन सफल विद्यालयका गणित विषयका शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

पुरस्कृत तथा सम्मानित हुनेहरुमा एसईईमा उत्कृष्ट अध्यापन गराई अब्बल नम्बर ल्याउने लक्ष्मी मावि सल्लेका शिक्षक सुदीप कटुवाल र कक्षा ८ को परीक्षामा अब्बल नम्बर ल्याउने तिलेश्वर मावि तेलियामा अध्यापन गराउने शिक्षक गंगाबहादुर तामाङ छन् । उनीहरुलाई जनही नगद १५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Chhathar_Jorpati_Barshik_Utsav3

त्यस्तै गरी गाउँपालिकामा कोरोनाको महामारीको समयमा उत्कृष्ट काम गर्ने ८ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ताँखुवा, तेलिया, परेवादिन र हात्तीखर्क स्वास्थ्य चौकीका पुष्पराज ओझा, रामनारायण शाह, चेतवीर थापा, आशिष आले रहेका छन्  । 

त्यस्तै आधारभूत स्वास्थ्य केन्द्र वडा नं.२ र ५ का विश्व लिम्बू र एबिन लिम्बू, सोही वडाका सामुदायिक स्वास्थ्य ईकाइका दुर्गाप्रसाद लिम्बू र प्रेमकुमार लिम्बू सम्मानित भएका छन् । 

त्यस्तै ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको खोजी’ विषयक निबन्ध प्रतियोगितामा छनोट भएका ५ जनालाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा प्रथम सुमिना श्रेष्ठ, दोस्रो भगवती लिम्बू, तेस्रो पूजाकुमारी लिम्बू र सान्तवनामा निम्दिगी शेर्पा र ठगेन्द्र लिम्बू रहेका छन् । 

उनीहरुलाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र २ हजार नगदले पुरस्कृत गरिएको थियो ।

Chhathar_Jorpati_Barshik_Utsav4

त्यस्तै उपाध्यक्ष छात्रा फुटबल कपमा प्रथभ हुने वडा नं.३ को चुलाचुली मावि दोस्रो हुने वडा नं.५ को महाकाली मावि र तेस्रो हुने वडा नं. ६ को सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुललाई नगद, ट्रफी र मेडल प्रदान गरिएको थियो । 

विजेता विद्यालयलाई क्रमशः ३० हजार २० हजार र १० हजार नगदले पुरस्कृत गरिएको थियो । 

त्यस्तै वार्षिक उत्सवको आकर्षणका रुपमा रहेको वडा स्तरीय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगितामा वडा नं.१ प्रथम, वडा नं.६ दोस्रो र वडा नं.२ ले तेस्रो स्थान हाँसिल गरे ।  विजेता वडा नं. १ ले ५० तोला चाँदीको रनिङ कपसहित ४० हजार नगद, दोस्रोले नगद ३० हजार ट्रफी र तेस्रो हुनेले नगद २० हजारसहित ट्रफी जितेको छ । 

त्यस्तै कार्यक्रमभरी मनोरन्जन दिन विभिन्न जातीय झाँकी तथा नृत्य प्रस्तुत गर्ने १० वटा एकल जातीय संस्था तथा साँस्कृतिक टोलीलाई गाउँपालिकाले नगद १० हजारका दरले सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पन्चेबाजा, २ वटा कृतन, च्याब्रुङ, २ वटा मगर झाँकी, शेर्पा, तामाङ सेलो, सोरठी नृत्य र सगरमाथा बोर्डिङ स्कुलको प्रस्तुति रहेको थियो । 

Chhathar_Jorpati_Barshik_Utsav2

सम्मानित तथा पुरस्कृत सबैलाई गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, शिक्षा विकास समन्वय ईकाइका प्रमुख मोहन राई लगायतले सम्मान गरे । 

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टेकबहादुर तामाङले विभिन्न क्षेत्रमा हालसम्म गरेको प्रगतिको गतिविधि तथा सुचाङ्क सार्वजनिक गरे । 

सो अवसरमा छथरजोरपाटी वडा नं.२ को नवनिर्मित वडा कार्यालय भवनको पनि समारोहका बीच समुद्घाटन गरियो । 

कार्यक्रममा विभिन्न पार्टीका नेता, समाजसेवीले गाउँपालिकालाई वार्षिक उत्सवको बधाई तथा शुभकामना दिएका थिए ।