ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारमा भएको आगलागीका कारण ४० करोड बढिको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ४० करोड ५ लाख ७४ हजार २९ रुपैँया बराबरको क्षति भएको विवरण तयार गरेको हो । जसमध्ये १ करोड ६० लाख ५८ हजार रुपैँया नगदै जलेको छ । 

taplejung_aaglagi1

आगलागीले पूर्णरुपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचना समेत जलेर नष्ट हुँदा ठुलो परिमाणमा क्षति भएको हो । सबै भन्दा बढि नेपाल टेलिकमको टावर सहितका संरचना जल्दा १ करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए । मंगलबार विहान भएको आगलागीका कारण ५० वटा घर जल्दा ६३ परिवार विस्थापित भएका थिए ।

 मुख्यमन्त्रीसँग पुर्नस्थापना र सहुलियत ऋणको माग

आगलागी पीडितले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग पुर्नस्थापना र सहुलियत ऋणको माग गरेका छन् । बिहीबार आगलागी प्रभावित स्थलको निरीक्षण तथा राहत लिएर ताप्लेजुङ आएका मुख्यमन्त्री राईसँग यस्तो माग गरेका हुन् । 

taplejung_aaglagi2

आगलागी पीडितको मागपत्र बुझ्दै प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले तीन वटै तहका सरकार पीडित पक्षको साथमा भएकाले पुर्नस्थापना र आगलागि क्षेत्रको दिर्घकालीन विकास हुनेमा ढुक्क हुन आग्रह गरे ।

घर पूर्ण क्षति भएकालाई ५० हजारका दरले र डेरा गरी बसेका परिवारलाई ३० हजारका दरले प्रदेश सरकारद्वारा आर्थिक सहायता प्रदान गरिने समेत मुख्यमन्त्री राईले घोषणा गरे ।