पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरका २१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि ५५ वर्ष माथिको उमेर समूहका नगरवासीलाई कोरोना भाइरस विरुद्ध निःशुल्क खोप लगाइने भएको छ ।

 नगर खोप समन्वय समितिले नगर प्रमुख एवम् समिति संयोजक दिलीपकुमार राईको अध्यक्षतामा मंगलबार बैठक सम्पन्न गरी फागुन २३ देखि चैत ३ गतेसम्म खोपकेन्द्रहरु मार्फत खोप सञ्चालनको निर्णय भएको हो ।

नगर प्रमुख राईले कोरोनाबाट बच्नका लागि सरकारले खोप अभियान सञ्चालन गरेकाले ढुक्क भएर खोप लगाउन नगरवासीलाई आव्हान गरेका छन् । उनले ५५ वर्षमाथिको उमेर समूह नै कोरोनाबाट बढी संक्रमित देखिएकाले उहाँहरुको सुरक्षाका लागि खोप अभियान अघि बढेको जनाए ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहालले ज्येष्ठहरुको सुरक्षाका लागि खोप लगाउन सवै जुट्नु पर्ने बताए ।

शिक्षक, यातायात सञ्चालक, ज्येष्ठ नागरिक र पत्रकार महासंघका प्रतिनिधि सहभागि बैठकमा अव सञ्चालन हुने तेस्रो चरणको खोपमा ५५ वर्षमाथिका नागरिकका साथै शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालकहरुलाई सहभागि गराइने जानकारी गराइएको छ ।

गोष्ठीमा कोरोना भाइरस र यसको खोपका बारेमा सहजिकरण गर्दै स्वास्थ्य शाखाका जगत मगरले गर्भवती र स्तनपान गराइरहेका महिला, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिहरु बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने प्रष्ट्याए ।

५५ वर्षमाथिका नागरिक तथा १८ वर्षमाथिका शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालक गरी यो चरणमा नगरमा करीव ८ हजार ५ सय ८८ जनालाई खोप लगाउने लक्ष्य बनाइएको स्वास्थ्य शाखाका एकराज खत्रीले उल्लेख गरे । साथै उनले खोप लगाउन आउँदा आफ्नो उमेर प्रष्टिने कागजात लिएर आउन आवश्यक रहेको समेत जानकारी गराए ।

 खोपलाई प्रभावकारी बनाउन प्रचार प्रसारका साथै यसको योजनामा जुट्न यसखाले बैठक वडा खोप समन्वय समिति र महिला स्वास्थ्य स्वयमसेविकाहरुसँग समेत तत्काल सञ्चालन हुनेछ ।