लक्ष्मीमार्ग । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार न्यायिक इजलास उद्घाटन गरिएको छ । 

कोरोना महामारीका कारण निर्माण सम्पन्न भएको एक वर्षपछि मात्रै इजलास उद्घाटन गरिएको हो । इजलासको उद्घाटन उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले गरे । उनले न्यायाधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्ने बताए ।

‘न्यायिक स्वच्छता र न्यायको निष्पक्षताका लागि न्यायाधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’, उनले भने ‘जसरी पति र पत्नीको व्यवहारमा आशङ्का उत्पन्न हुँदा सम्बन्ध बिग्रन्छ त्यसरी नै न्याय र न्यायाधीशबीच आशङ्का हुँदा न्यायको अभिष्ट पूरा हुँदैन । त्यसैले पतिव्रता पत्नी र पत्नीव्रता पतिजस्तै न्यायव्रता न्यायाधीश हुनुपर्छ ।’

न्याय एकातिर, कानुन अर्कातिर र प्रमाण एकातिर तथा न्याय अर्काेतिर हुन नहुने उनको भनाइ थियो ।

संविधानले अवलम्बन गरेअनुसार स्थानीय सरकारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भए पनि न्यायिक समितिमा आउने जनप्रतिनिधिहरू न्याय र कानुनी पृष्ठभूमिको नभएका हुनाले न्याय सम्पादन कस्तो हुन्छ भन्नेमा सुरुमा आशङ्का भए पनि त्यो आशङ्का अब हराएको उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले अघिल्लो वर्षको चैतमा नै इजलास उद्घाटन गर्ने तयारी भए पनि कोरोनाले गर्दा एक वर्ष ढिला गरी उद्घाटन गरिएको बताए । 

कार्यक्रमकी सभापति उपप्रमुख तथा न्यायिक समिति संयोजक धनमाया तामाङले न्याय सम्पादनसम्बन्धी ३ तहको अदालतमध्ये स्थानीय तहको न्यायिक इजलासले संविधानमा आफूलाई दिएको अधिकार कानुन र न्याय मान्य सिद्धान्त बमोजिम मुद्दा हेर्ने र न्यायिक निकायबाट विवाद समाधान गरिने बताइन् ।