धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–८ सोक्रोक्पामा स्वास्थ्य चौकी बन्न थालेपछि गाउँवासी खुसी भएका छन् । 

सामान्य उपचारका लागि सहरी क्षेत्र धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीय खुसी बनेका हुन् । ८ कोठाको भवन निर्माण सुरु भएको हो । चौबिसे गाउँपालिकाको २० लाख लगानीमा निर्माण भइरहेको स्वास्थ्य चौकी भवनको हाल २ तला ढलान भइसकेको वडा नं. ८ का वडाध्यक्ष धनवहादुर खजुमले जानकारी दिए ।

दुई तले स्वास्थ्य चौकी भवन गाउँपालिकाको आर्थिक वर्ष ०७६/०७७ को बजेट तथा कार्यक्रमको २० लाख रुपैयाँ लगानीमा निर्माण भएको अध्यक्ष खजुमले बताए । उनले स्वास्थ्य चौकी भवन पूर्णरूपमा सम्पन्न गर्नको लागि अझै ५० लाखभन्दा बढी बजेट आवश्यकता रहेको बताए । 

यस वर्ष चालु आर्थिक वर्षमा गाउँपालिकाको हिउँदे अधिवेशनबाट स्वास्थ्य चौकीको लागि बजेट विनियोजन गरेर भवन निर्माण कार्य सम्पन्न गर्ने अध्यक्ष खजुमले बताए । स्थानीय समाजसेवी एवम् स्थानीय लिम्बू समुदायको अगुवा टेकवीर लिम्बूले आफ्नो स्वर्गीय बुबा गुञ्जमान खजुमको स्मृतिमा १ रोपनी जग्गा प्रदान गरेपछि स्वास्थ्य चौकी भवन बनाउन थालिएको हो ।

स्वास्थ्य भवन निर्माणसँगै चौविसे गाउँपालिका–८ का ३ सयभन्दा बढी घरका १२–१५ सय जनसङ्ख्या लाभान्वित हुने स्थानीय समाजसेवी युवा मावोहाङ गोविन्द चेम्जोङले बताए । 

स्वर्गीय गुञ्जमानका नाति लोकबहादुर खजुमले भने–आफ्नो बुबाहरू तीनभाइ रहेकोमा आफ्नो बुवा जेठा टेकवीरले आफ्नो अंशको १ रोपनी जग्गा स्वास्थ्य चौकी भवन बनाउन दान गरिएको हो ।

स्वास्थ्य चौकी भवन निर्माण भएसँगै यस भेगमा स्वास्थ्य उपचारबाट बन्चित हुन पुगेका स्थानीयवासीलाई स्वास्थ्य उपचारमा सहज हुने आफूलाई विश्वास लागेको टेकवीरका छोरा लोकबहादुर खजुमले बताए ।