पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट (बास्तोला)ले प्रकृतिको प्राकृतिकपनलाई दुरुस्त जोगाएर मात्रै पर्यापर्यटनको विकास गर्नुपर्ने बताएकी छन् ।

उनले शुक्रबार वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र काठमाडौंले पथरी शनिश्चरेमा आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा बोल्दै उपप्रमुख बास्तोलाले सो कुरा बताएकी हुन् ।

 देशमै उत्कृष्ठ बनेको नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहको आतिथ्यतामा सम्पन्न गोष्ठीमा उनले पथरी शनिश्चरे नगरमा पनि पर्यापर्यटनको विकासका लागि नगरले सहयोग पुर्याउँदै आएको जनाइन् । नियम कानूनको परिधिमा रही वनलाई उद्यमका रुपमा अघि बढाउँदै पर्यापर्यटनको विकासमा लाग्न सहभागिलाई शुभकामना समेत व्यक्त गरिन् ।

 डिभिजन वन भोजपुरका अधिकृत विष्णुलाल घिमिरे, सुनसरीका अधिकृत रामबहादुर श्रेष्ठले सामुदायिक वन र पर्यापर्यटनका बारेमा बोलेका छन् । कार्यक्रममा सामुदायिक वन अध्ययन केन्द्रका विष्णु ज्ञवालीले सम्बन्धित विषयमा सहजिकरण गरे ।

हरियाली वनका तर्फबाट केशव दहालले सो संस्थाले खडा गरेको कम्पनीका बारेमा जानकारी समेत गराउँदै संस्थाले तयार गरेको पर्यापर्यटनको बृहत डीपीआर प्रस्तुत गरे । वन संरक्षण तथा पर्यटन विकासका लागि तय गरेको अभियानमा हालसम्म १ करोड रुपैयाँ शेयर जम्मा भएको उनले जनाए ।

उपभोक्ताहरुको ५५ प्रतिशत, नगरपालिकाको १० प्रतिशत समेत गरी शेयर जम्मा गर्ने अभियान थालिएको वताए ।  गोष्ठीमा १ नम्बर प्रदेशका प्रति जिल्ला २ जनाका दरले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सहभागि थिए ।