भण्टाबारी । सुनसरीको कोशी गाउँपालिका कोभिड १९ अस्पताल संचालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश नम्बर १ को सहयोगमा कोशी गाउँपालिका ३ स्थित पश्चिम कुसाहामा बिहीबारबाट कोभिड १९ अस्पताल संचालनमा आएको हो ।

५ बेडको अस्थायी कोभिड १९ अस्पतालको उद्घाटन कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । उक्त अस्पतालमा एमबीबीएस डाक्टर असद अन्सारीको नेतृत्वमा रहेका स्वास्थ्यकर्मीको टोलिले सेवा दिइने छन् ।

अस्पताल उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अन्सारीले आगामी दिनमा कोभिड १९ अस्पताललाई स्तरोन्नति गर्दै सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे । कोभिड १९ अस्पताल नाम दिएपनि भविष्यमा स्तरोन्नति गर्दै १० देखि २० बेडसम्मको अस्पताल बनाउने उनको भनाइ छ ।

बिरामी पर्दा बिराटनगर वा धरान जानबाट रोक्न कोशी गाउँपालीका क्षेत्रमा सुविधा सम्पन्न अस्पताल अपरिहार्य रहेकोले अस्पताल बनाउनका निम्ति जग्गा उपलब्ध गराउन सर्वसाधारणमा अध्यक्ष अन्सारीले आह्वानसमेत गरेका थिए ।

कोशी गाउँपालीका ३ का वडाध्यक्ष सुलेमान मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको अस्पताल उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत,१ नम्बर वडाध्यक्ष , डाक्टर असद अन्सारी,उपाध्यक्ष अनिता यादव,हरेकृष्ण राउतलगायतले बोलेका थिए भने कार्यक्रम कोशी गाउँपालीकाका स्वास्थ्य संयोजक जमिल अख्तरले संचालन गरेका थिए ।