धरान । धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकिएको छ । 

निर्धारित समयभन्दा करिब ३ घन्टा ढिलो सुरु भएको नगरसभा प्रदेश १का सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने वित्तिकै सकिएको हो । 

धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै धरानका केही जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि नगरसभा केही घन्टा ढिलो भएको थियो । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूह निकटका स्थानीय कार्यकर्ताहरुको बाहुल्यता रहेको टोलिले नगरसभा हलमै पुगेर नारा जुलुस गरेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले फागुन २१ गतेसम्म धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । मेयर राईको प्रतिवद्धतापछि उपमहानगरपालिकाको आठौं नगरसभा सुरु भएको थियो ।

अब नगरसभाको अर्को बैठक फागुन २१ गते बस्ने छ । सो बैठकमा बजेट संशोधन, संघसंस्था दर्ता सम्बन्धित ऐन र आर्थिक प्रशासन सम्बन्धि ऐन प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । आज सोमबार विहान भएको उपमहानगरपालिकाको नगरसभा सञ्चालन समितिको बैठकमा फागुन २० भित्र खानेपानीको समस्या समाधान गर्ने निर्णय भएको थियो ।