विराटनगर । डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल भन्ने लक्ष्मीप्रसाद रिजाल धरौटीमा छुटेका छन् । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालासले रिजाललाई बिहीबार १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारीले तोकेको धरौटी रकम बुझाएपछि रिजाल रिहा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाँटी रोग विशेष डा. मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका थिए । रिजालले चिकित्सक बस्नेतलाई १५ पुसमा राती साढे ८ बजे निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेतको औंला र सम्बेदनशिल अंगमा चोटपटक लागेको थियो । पहँुचवाला रिजालले चिकित्सकलाई निर्घात कुटपिट गरेपछि पनि घटना बाहिर लगे जागिरबाट हटाउने धम्की र मानसिक रुपमा यातना दिएको कारणले ढिलो गरि बस्नेतले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीमा जाहेरी परेपछि लामो समयदेखि फरार गरेका रिजाललाई १० माघमा पक्राउ गरि मोरङ प्रहरीले ‘अभद्र व्यवहारको’ मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको थियो । रिजाल र बस्नेत मिल्ने साथी हुन् । मित्रवत सम्बन्ध हुँदाहुदै उनीहरुबीच आर्थिक लेनदेनको विवाद हुँदा झगडा भएको थियो । 

विराटनगरमा थोक विक्रेताको कारोबार गर्दै आएका रिजालले बस्नेतसँग १० लाख रुपैयाँ ऋण सापटी लिएका थिए । सापटी लगेको रकम मागेपछि कोठामा पुगेर रिजालले कुटपीट गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

 पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको हो । मोरङ प्रहरीले अनुसन्धान पूरा गरि अभियोग बुझाएपछि प्रमुख जिल्ला अधिकारीले धरौटीमा छोड्न आदेश दिएका हुन् ।