विराटनगर । डाक्टरलाई कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाँटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका हुन् । मोरङको सुन्दरहरैचनाका नगरपालिकाको गछिया घर भएका ४३ वर्षिय रिजाल विराटनगर बस्दै आएका छन् । उनी विराटनगर व्यापर संघको सदस्य पनि हुन् ।

उनको विराटनगरमा होलसेलको डिलर पनि छ । उनले केही दिन अगाडी डाक्टरलाई कुटपिट गरि गम्भिर घाइते बनाएको आरोप छ । नेता रिजालको कुटाइबाट डाक्टर बस्नेतको शरिरको विभिन्न भागमा चोटपट लागेको छ । चिकित्सक बस्नेत बस्ने कोठामा गएर नेता रिजालले कुटपिट गरेको आरोप छ । उनीहरू मिल्ने साथी हुन् ।

सामान्य विषयमा वादविवाद भई झगडा हुँदा रिजालले डाक्टरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताए ।

रिजालले चिकित्सक बस्नेतको लाखौं रुपैयाँ पनि लगेको बुझिएको छ । विराटनगरमा होलसेलको पनि डिलर संचालन गर्ने रिजाल व्यापारमा लगानी गर्न पैसा आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट लाखौं रुपैयाँ लिएका थिए । सापटी दिएको पैसा र अन्य बिविध कारणले गर्दा रिजालले चिकित्सकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।