धरान । सौन्दर्य प्रतियोगीताका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

युवती तथा महिलाहरुलाई सौन्दर्य प्रतियोगीताको ताज जीताउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा इलामका कमल खतिवडा र ललितपुर बस्ने हिमाली सुब्बालाई प्रहरीले धादिङबाट पक्राउ गरेको हो । 

देशभर बालबालिका, युवा–युवतीदेखि विवाहित महिलाका विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएका उनीहरुलाई मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

धादिङस्थित इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार खतिवडा र सुब्बा दुवैले आरोप स्वीकार गरिसकेका छन् । उनीहरुले प्रहरीसँग पैसा उठाउनु आफुहरुको बाध्यता रहेको बताएका छन् । उनीहरु बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

देशभर सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको अमेजन इन्टरटेन्मेन्ट प्रालिकी प्रबन्ध निर्देशक हिमानी सुब्बा हुन् भने व्यवस्थापक कमल खतिवडा । उनीहरुले केही वर्षअघि धरानमा पनि ‘कोशी क्विन’नामको विवाहित/अविवाहित सबै महिलाहरुको सौन्दर्य प्रतियोगीता आयोजना गरेका थिए । सो कार्यक्रममा पनि पैसा उठाउन आयोजना गरिएको भनेर विवादमा परेको थियो । 

हिमानी र कमलको टिमले ‘मिस नेपाल आइडल’, ‘मिसेस नेपाल आइडल’, ‘मिसेज हिमालयन नेपाल’, ‘कोशी क्विन’, ‘मिसेस पूर्वाञ्चल’, ‘मिस एन्ड मिसेज लम्जुङ’, ‘मिस एन्ड मिसेस धादिङ’, ‘व्युटिसियन नेपाल’, ‘मिसेज आर्यन’ लगायतका प्रतियोगीता देशभर सञ्चालन गर्दै आएका छन् । विभिन्न ठाउँ, जाती, समुदायका नाममा दर्जनौं सौन्दर्य प्रतियोगीता उनीहरु दुई जनाले आयोजना गर्दै आएका उनीहरुलाई सौन्दर्य प्रतियोगीताका नाममा कमाउ धन्दा सञ्चालन गर्दै आएको आरोप पहिलादेखि नै लाग्दै आएको हो ।