विराटनगर । १ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशनको सातौं पहिलो बैठक तीन मिनेट बसेर सम्पन्न भएको छ । बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अधिवेशन आह्वान गरेको पत्र सभामुख प्रदिप कुमार भण्डारीले पढेर सुनाइएपछि बैठक स्थगित गरेका हुन् ।
सभामुख भण्डारीले अर्को सूचना नभएसम्मको लागि प्रदेश सभाको बैठक स्थगित भएको सदनमा जानकारी गराए ।
प्रदेश सभा संचालन हुनुभन्दा आगाडी सभामुखको कार्यकक्षमा कार्यव्यवस्थापन परामर्श समिति बैठक बसेको थियो । सो बैठकले नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियोे ।
हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।
नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो ।
यसैगरी प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।