धनकुटा । धनकुटा वजारमा आइतवार बिहान विद्यालय जाने क्रममा ट्याक्टरले किचेर मृत्यु भएकी १५ वर्षीया छात्रा रेविका आठपहरियाका परिवारले ११ लाख रुपयाँ क्षतिपुर्ति पाउनु पर्ने माग अघि सारेका छन् । 

पिडित परिवार पक्ष र ट्याक्टर धनी विच क्षतिपुर्ति दिने र लिने विषयमा सहमती जुट्न नसक्दा छात्राको शव दाहसंस्कार गरिएको छैन । घट्ना लगत्तै मृतक छात्रा रेविकाका परिवार, आफन्तले उचित क्षतिपुर्ति र लापार्वही गरेर ट्याक्टर चलाउने चालकलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा आईतवार दिनभर घेराउ गरेका थिए । 

अपरान्ह ३–४ वजेसम्म जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षका आफन्तहरु र गाडी मालिक धनकुटा–६ घर भएका नारयण वि.क.विच क्षतिपुर्तिको विषयमा कुरो नमिलेको धनपा–८ का वडाध्यक्ष सुमन आठपहरियाले ब्लाष्टलाई बताए । उनले जिल्ला प्रहरी कार्यालयमा लामो समयसम्म पिडितको मागलाई सम्वोधन गर्नको लागी गाडी मालिकलाई अनुरोध गर्दा पनि सुनवाई नभए वताए । पिडित पक्षले १ लाख किरिया खर्च र १० लाख क्षतिपुर्ति दिनु पर्ने माग राखिरहँदा गाडी मालिकले १ लाख किरिया खर्च र ५ लाख मात्र क्षतिपुर्ति दिने अडान लिएकाले सहमती जुट्न नसकेको वडाध्यक्ष राईले वताए । 

मृतकका कान्छा काका तारा आठपहरियाले आफुहरुले भनेको उचित क्षतिपुर्ति गाडी मालिकले नदिएसम्म कुनै हालतामा लास नउठाउने वताए । जिल्ला प्रहरी कार्यालय धनुकटामा क्षतिपुर्तिको लागी सहमती नजुटे पनि साँझ  त्रिवेणी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र आठपहरियाको अध्यक्षतामा वैठक बसेको छ । वैठकले गाडी मालिक नारायण विक त्रिवेणी माविको लेखापाल भएकाले क्षतिपुर्तिको विषयमा सहमती नजुटेसम्म उनलाई कामवाट निलम्बन गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ । पिडित पक्षले आफ्नै विद्यार्थी दुर्घटनामा पर्दा पनि लेखापाल वि.क.सहमतीमा नआएको गुनासो पोखेका छन् । 

विद्यालय व्यवास्थापन समितिको वैठकमा धनपा वडा नं.८ का वडाध्यक्ष सुमन आठपहरिया, विव्यासका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, पिडितका आफन्त वसेर क्षतिपुर्तिको लागी छलफल गरेको विद्यालयका प्रधानाध्यापक दिपक पोख्रेलले वताए । विद्यालयमा अध्ययरत विद्यार्थीहरुका अभिभावकहरुले गाडी मालिक नारायण वि.क.लाई विद्यालयबाट हटाउन दवाव दिएपछि सहमतीका लागी उनलाई निलम्वन गरिएको विव्यास अध्यक्ष नारायण सुरेन्द्र आठपहरियाले ब्लाष्टलाई वताए । 

गाडी मालिक नारायण वि.क.ले भने प्रहरी कार्यालयमा १ लाख किरियाखर्च सहित ६ लाख रुपयाँ दिन्छु भनेको नमाने पछि विद्यालयले निलम्वन गर्ने भन्ने आफुले सुन्दा दुःख लागेको वताए । आफुसंग पैसा छैन, इन्स्युरेन्सले दिने ५ लाख र किरिया खर्च तत्काल १ लाख दिने भन्दा नमाने पछि सहमती नजुटेको उनले बताए । लामो समयसम्म पिडित पक्षले क्षतिपुर्तिको विषयमा अडान लिएकाले ७ लाखसम्म दिने भन्दा पनि नमाने पछि आफु जेल वस्न तयार हुने तर त्यो भन्दा दिन नसक्ने बिकले बताए । 

धनकुटा नगरपालिका वडा नं.८ पेलेकपाङ्ग घर भएकी वर्ष १५ की रेविका आठपहरिया राईको विद्यालय आउने क्रममा आईतवार विहान धनपा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किचेर घटना स्थल मै मृत्यु भएको थियो । मृतका वुवा इन्द्र कुमार आठपहरिया वैदेशिक रोजागारीको सिलसिलामा साउदी अरव रहेका छन् । आमा फुलकुमारी आठपहरियालले श्रीमान विदेश रहेपनि घरमा २ छोरीहरुलाई पठनपाठन गराउँदै आएकी थिईन । तर उनले आईतवार विहान आफु काम गर्न वारीमा जाँदा छोरीहरु विद्यालय आउने वेलामा भेट नभएको वताईन । एक्कासी छोरी दुर्घटनामा परी भनेको खवर सुन्दा हंसले ठाउँ जोडेको आमा फूलकुमारीले गहभरी आँसु झार्दै ब्लाष्टलाई सुनाईन । लापार्वाही गरेर गाडी चलाउने चालकलाई कडा भन्दा कडा कार्वाही र उचित क्षतिपुर्तिको माग गर्दै सहयोग गर्न सवैलाई आग्रह गरेकी छन् ।