विजयपुर/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभागीय प्रमुख डा. पशुपति चौधरीका चारवटा पुस्तक प्रकाशित भएका छन् । 

प्रकाशित पुस्तकहरू शुक्रबार एकसाथ प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, भाषाविद् प्रा.डा. टङ्क न्यौपानेलगायतले विमोचन गरे । पुस्तकमा ढाडको दुखाइ, समस्या र समाधानका विषय उठान गरिएको छ ।

पुस्तकमा ढाड किन दुख्छ, कति घातक हुन्छ ? उपचार पद्दति कस्तो हुन्छ ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ? भन्ने जस्ता विषयहरू समेटिएको डा. चौधरीले बताए । अर्को पुस्तक हाडजोर्नी समस्या, समाधान र अन्य समसामयिक विषयमा विचार रहेको छ । यो पुस्तकमा पनि के, कसरी हाड जोर्नीको समस्या हुन्छ ? यसको समाधान कसरी गर्न सकिन्छ ? जस्ता विषयवस्तु समेटिएको छ । त्यस्तै अर्को पुस्तक डाक्टर प्यासेण्ट कम्युनिकेसन स्किल रहेको छ ।

उक्त पुस्तकमा चिकित्सकले बिरामीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ ? एउटा बिरामीलाई कति समय दिनुपर्छ ? अस्पतालको नेतृत्व कस्तो हुनुपर्छ ? मानव र हात्तीबीचमा द्वन्द्व किन हुन्छ ? ग्लोबल वार्मिङले मानव स्वास्थ्यमा कस्तो असर पारेको छ ? मानिसले आफ्ना कामलाई कसरी व्यवस्थापन गरेर आफू र परिवारलाई खुसी बनाउन सकिन्छ ? कोभिड–१९  र यसको प्रभावलगायत विषयहरू रहेको डा. चौधरीले जानकारी दिए ।

चौथो पुस्तक थारु जातिको उत्पत्ति र इतिहास (थारु हिस्ट्री एण्ड ओरिजिन) रहेको छ । उक्त पुस्तक थारु जातिकोे विश्वको इतिहासलाई समेटेको डा. चौधरीले बताए । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी रहेका थिए ।

कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य घनश्याम खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई, १ नं. प्रदेशसभाका सदस्यहरू, दुहबी नगरपालिकाका प्रमुख, प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, चिकित्सकलगायतको उपस्थिति रहेको थियो । डा. चौधरी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुखसमेत हुन् । उनले हाडजोर्नीसम्बन्धीको उपचार डेढ दशकदेखि गर्दै आएका छन् ।