दमक/ नयाँ कोरोना देखिएको मुलुक बेलायतबाट झापाका विभिन्न नगर र गाउँपालिकाका एक महिलासहित चारजना नागरिक घर आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिकाका एक महिलासहित चारजना एकसाताअघि मात्रै गाउँ आइपुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कचनकवलका १, अर्जुनधाराका एक महिलासहित दुई र गाउँपालिका नखुलेका एकजना गरी चारजना नेपाल आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

चारैजनालाई उच्च निगरानीमा राखिएको छ । फोकल पर्सन चांैलागाईंका अनुसार चौध दिनसम्म अनिवार्य क्वारेण्टिनमा बस्न भनिएको छ भने लक्षण देखिए तत्काल स्वास्थ्य शाखामा खबर गर्न अनुरोध गरिएको छ । 

परीक्षणमा दुविधा

आएकामध्ये चारजनालाई लक्षण देखिएमा कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गर्ने विषयमा भने स्वास्थ्य कार्यालय दुविधामा परेको छ । नयाँ सङ्क्रमण हो, होइन भनेर छुट्याउनका लागि फरक खालको किट र रिएजेण्टको व्यवस्था नभएकाले पनि अन्यौलता छाएको बताइन्छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएमा कोरोनाको परीक्षण गर्नका लागि कुनै किटको व्यवस्था नभएकाले पनि अन्यौल भएको उनले बताए । एक महिनाअघि बेलायतबाट आएका ५ जनामा कोरोना पोजेटिभ देखिए पनि उनीहरूमा नयाँ कोरोना भए–नभएको किटान गर्न समस्या भएकोबारे आधिकारिक जानकारी आइनसकेकाले थप अन्यौलता सिर्जना भएको उनले बताए । 

सीमामा कडाइ

नयाँ प्रकारको कोरोना देखिएपछि अहिले विभिन्न युरोपेली देशहरूले लकडाउन र निषेधाज्ञा गरिरहेका छन् । नयाँ कोरोनाको सङ्क्रमणदर उच्च र छिटो फैलिने भएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउन थालिएको छ । नेपालले पनि बेलायतबाट आउने सबै हवाई उडान बन्द गरेको छ । स्थल मार्गका सीमानाका पनि बन्द गरिएको छ । भारतमा पनि नयाँ खालको कोरोना देखिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपाल–भारतको सीमानाका खुल्ला भएकाले पनि थप चिन्ता बढाएको छ । 

झापा जिल्ला १ सय ४४ किलोमिटरभन्दा बढी भारतको सीमासँग जोडिएको छ । अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालाले काँकरभिट्टा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश रोक लगाइएको बताए । भारतीयहरू नेपालको सीमावर्ती क्षेत्रमा आएर खेतीपाती गर्ने भएकाले पनि नेपाल–भारतको नाकामा कडाइ गर्न मुस्किल हुने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले पूर्व घोषित नियमलाई कडाइका साथ कार्यान्वयन गरिने र आवश्यक सुरक्षा पोष्टहरू स्थापना गर्नेलगायतका काम भइरहेको बताए । 

सतर्क बन्दै स्थानीय सरकार

नयाँ कोरोना भाइरसका विषयमा दमक नगरपालिकामा पनि अन्यौलता छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना नयाँ कोरोनाबाट बच्न पनि पहिलेकै सुरक्षाका उपाय अपनाउँदा बच्न सकिने भन्दै सरकारबाट आधिकारिक सूचना आइनसकेकोले जनचेतनाका कार्यक्रमहरू सुरु गरी नहालेको बताउँछन् । फेरि पनि लकडाउन नै गर्नुपर्ने अवस्था नआओस् भनेर सबैले आवश्यक सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् । 

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा हाल कोरोनासँग लड्न अपनाइएका उपाय र तयारी अवस्थाका संरचनालाई यथावत् राखिने बताए । दमकमा कोरोना अस्पतालका साथै दमक–४ र १० नम्बर वडामा आइसोलेसन सेण्टर छन् ।