तिहारपछिको कुरा हो, सामाजिक सञ्जालमा हामीले भोगेको माओवादी कालखण्डको बारेमा नयाँ पुस्तक आएको थाहा पाएँ । त्यो किताबको नाम ‘जोर बन्दुकको छायाँ’ र लेखक श्रीभक्त खनाल रहेछन् । किताबको एउटा च्याप्टर कान्तिपुर दैनिकको अनलाइन संस्करणमा पनि आएको थियो । त्यो च्याप्टरमा लेखकले नाम नखुलाइएको डाँडोमा गएर माओवादीकालमा मारिएका मानिसको बारेमा गरेको अनुसन्धान थियो । अत्यन्तै मीठो भाषामा शिष्ट तरिकाबाट लेख लेखिएको थियो । लेख पढेपछि म धरानमा किताब कहिले आउला भनेर प्रतीक्षा गर्न थालेँ । 

काठमाडौंमा भएका साथीहरुले किताब राम्रो छ भन्दै फेसबुकमा राख्न थाले । भानुचोकमा रहेको पाथीभरा स्टेशनरीमा गएर किताब सोधेँ । आज आउला छैन, भोलि आउला छैन् । प्रतीक्षा गर्न सकिनँ, आउने हो कि नआउने हो त्यसैले थुप्रै डटकम मार्फत् किताब मगाएँ । अर्डर गरेको करिब ७ दिनपछि नयाँ कागजबाट आउने बास्नासहित किताब हात प¥यो । 

 पहिलो अध्याय लमजुङमा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीको रहेछ । म आफै पनि शिक्षिका हुँ । अरनिको मेमोरियल बोर्डिङ, भोटेपुलमा पढाउँछु । शिक्षिका भएको नाताले र आफैले द्वन्द्वकाल भोगेकीले मुक्तिनाथको अध्याय ध्यान दिएर पढेँ । लेखकले कसैलाई पनि दोष नलगाई निकै मिहिन तरिकाले घटना प्रस्तुत गरेका रहेछन् । पूरै अध्याय पढेपछि मलाई किताब होइन, भिडियो हेरेजस्तो लाग्यो । 

म माध्यमिक तहका नानीहरुलाई अङ्ग्रेजी पढाउँछु । आफै पनि अङ्ग्रेजी साहित्यको विद्यार्थी हुँ । पाएसम्म जुनसुकै विधाका अङ्ग्रेजी र नेपाली किताबहरु पढ्छु । मनु मञ्जिलका कविता पढ्छु, डा. राम्जी तिमिल्सिनाका लेखहरु पढ्छु । महेन्द्र मल्टिपल कलेजमा हुने साहित्यिक गतिविधि सकेसम्म छुटाउन मन लाग्दैन । यति भन्नुको कारण के हो भने मलाई पढ्नमा रुची छ, असल टिचरहरु पाएकी छु । राम्रा किताबहरु पढ्न उहाँहरुलाई पनि सिफारिस गर्छु । राम्रा किताब नानीहरुलाई पनि पढ्न भन्छु । 

यो पटक मैले कसैको सिफारिस बिना जोर बन्दुकको छायाँ किनेकी थिएँ । किताब पढेपछि लाग्यो कि यो किताब पढ्न छुटाउने हो भने माओवादी आन्दोलनको भित्री बाटो बुझ्न नसकिने रहेछ । मजस्ता पाठकले थाहा पाउनु पर्ने कुरा धेरै रहेछ । किताब पढ्न छुटेको भए धेरै कुरा छुट्ने रहेछ । 

किताबमा दोरम्बा हत्याकाण्ड, मैना सुनुवार, चितवनको बाँदरमुढे, मेलमिलाप आयोग आदिका बारेमा लेखिएको रहेछ । यी च्याप्टरहरु पढेपछि के मनमा लाग्यो भने लेखक श्रीभक्त खनालले निकै धैर्य र सन्तुलन मिलाएर किताब लेखेका रहेछन् । अरु लेखकले माओवादीबारे लेखेको किताब र लेखहरु पनि पढेकी छु । केही पाना पढेपछि लेखकहरुले अरुलाई गाली गर्दै तल्लो स्तरमा ओर्लेर आफ्नो किताब सकेको महसुस हुन्छ । एकदमै एकपक्षीय, स्तरहीन, समयको बबार्दी, पैसाको दुरुपयोग र पाठकको अपमान । तर, श्रीभक्त खनालको किताबले त्यसो हुन दिएन । हिंसा, द्वन्द्व र पीडाको कुरालाई सरल र मीठो तरिकाले कसरी प्रस्तुत गर्न सकिँदोरहेछ भन्ने कुरा यो किताबबाट जानियो । लेखकले पाठकलाई चित्तो बुझ्दो तरिकाबाट उसले तिरेको पैसा सदुपयोग गरिदिएका छन् । यस अर्थमा किताब ‘मनी ब्याक ग्यारेण्टी’ जस्तै रहेछ । 

सशस्त्र प्रहरीका आईजीपी कृष्णमोहन श्रेष्ठको च्याप्टरमा पढेपछि म अचम्ममा परे । त्यहाँ लेखकले सो हत्यामा संलग्न भनिएका कृष्णमोहन सैंजुको बयान पेश गरेका छन् । यो च्याप्टरले मलाई फेरि पनि भिडियो हेरे जस्तो बनायो । मलाई पुनः द्वन्द्वकालको अवस्थामा पु¥यायो । द्वन्द्वकालमा हामी कुनै न कुनै रुपले प्रभावित थियौं । मेरो आफ्नो कुरा गर्छु । मैले एसएलसी दिने बेलामा द्वन्द्व उत्कर्षमा थियो । जताततै भिडन्त । ड्याडी पदमबहादुर कार्की प्रहरीमा हुनुहुन्थ्यो । भोजपुरमा पोष्टिङ थियो । उहाँका साथीमध्ये केहीले जागिर छाडे । पहुँच हुनेहरु शहरतिर सरुवा भए । ड्याडी चाहिँ मरे पनि मर्छु, जागिर छाड्दिन भनेर कहिल्यै घर आउनुभएन । सधैँ काममा । बेला–बेला फोन गरेर छोरी के छ भनेर सोध्दा रुन मन लाग्ने । देशका विभिन्न भागमा जताततै बम पड्केको छ । प्रहरी चौकी माथि आक्रमण भएका छन् । मान्छे मारिएका छन् । हामीलाई घरमा सधैँ पिर । म शारदा बालिका उच्चमावि, फुस्रेमा प्लस टु पढ्दै गर्दा बुबाको पेन्सन भयो, अनि हाम्रो परिवारको पिर पनि कम भयो । 

मैना सुनारको च्याप्टर पढेपछि मेरो गहमा आँशु भरिएर किताबका पाना भिजे । त्यो च्याप्टर पढेपछि द्वन्द्वमा त्यस्तोसम्म अत्याचार भएको रहेछ भनेर थाहा भयो । किताब लेख्न लेखकले जुन साहस गरेका छन्, जुन सिर्जनात्मक लेखन प्रयोग गरेका छन् र जुन खोजी पत्रकारिता गरेका छन् त्यसलाई मेरो नमन । 

किताबको अन्त्यमा लेखकले केही पाना खाली छोडेका रहेछन् । पाठकलाई आफ्नो अनुभव लेख्न । मनमा गुम्सिएका भावना व्यक्त गर्न । यो नौलो खालको प्रयोग रहेछ । यसबाट लेखक एकदम सिर्जनशील हुन् भन्ने लाग्यो । किताब पूरै पढेर भ्याएपछि मेरो मनमा के लाग्यो भने किताब धेरैले मन पराउन् या नपराउन्, बेस्ट सेलर होस् या नहोस् किताब लेखनमा लेखक इमान्दार भएर प्रस्तुत भएका छन् । माओवादी र सरकारको भित्री कुरा बाहिर ल्याइदिएका छन् । किताबमा लेखकले आफू हाल बेलायतमा भएको लेखेका छन् । बेलायतका कुनै पनि नेपाली पत्रकारले विस्तृत रुपमा नलेखेको कर्णेल कुमार लामाको केसलाई उनले मेहनत गरेर प्रस्तुत गरेका छन् । नेपाली आर्मीका कर्णेल कुमार किन बेलायतमा पक्राउ परे, कारण के रहेछ ? कसरी छुटेछन् ? त्यो भित्र के के खेल भएछन् भन्ने कुरा पाठकले सबै थाहा पाउँछन् । 

लेखकले प्रकाशित नगर्दासम्म त्यो लेखककै सम्पत्ति हुन्छ । छापिएर जब बजारमा आइपुग्छ, त्यो सबैको हुन्छ । पाठकले जब किताब किन्छ, त्यो उसको हुुन्छ । त्यही भएर पाठकले त्यो मेरो किताब भन्छ । ‘जोर बन्दुकको छायाँ’ मेरो हात परेपछि त्यो मेरो किताब भएको छ । लेखकका शब्दहरु पाठकका सम्पत्ति हुन्छन् । लेखकले हामीजस्ता पाठकलाई ज्ञानको सम्पत्ति दिएर गुन लगाएका छन् । लेखकप्रति आभार । 

किताबमा प्रयोग गरिएका केही पात्रहरुको कथा र अनुभव सुन्दा कताकता होइन कि जस्तो पनि लाग्यो । ती नामहरु खोजेर फेसबुकमा साथी बनाएँ । उनीहरुलाई तपाईंले किताबमा भन्नुभएको कुरा सत्य हो ? तपाईंले भनेका कुरा लेखकले तोडमोड त गरेका छैनन् भनेर सोधेँ । किताबमा व्यक्त गरिएका सबै कुरा सत्य रहेछन् । फेसबुकमा भेटिएका किताबका पात्रले जस्तो भनेको लेखकले त्यस्तै उतार गरेको बताए । अब भने मलाई लेखक पक्का इमान्दार भएको लाग्यो । पाठकले सधैँ लेखकलाई पत्याउनु पनि हुँदैन । बेला–बेला, मौका परेका बेला र मिल्दासम्म क्रस चेक गर्नुपर्छ लेखकलाई । यो मानेमा जोर बन्दुकका लेखक पास भए । 

बजारमा राम्रो भनेर हल्ला चलेको तर ल्याएर पढ्दा हावादारी लाग्ने किताब धेरै हुन्छन् । चर्चाको भरमा किताब किनिन्छ तर, गतिलो परेन भने  पाठक ठगिन्छ । कहाँ गएर भन्ने ? त्यस्ता लेखकलाई पाठकले गर्न सक्ने भनेको दुईटा कुरा मात्र छन् । पहिलो उसका कुनै पनि कृति नकिन्ने र घरमा भएका पुस्तक कवाडीलाई बेचिदिने । जोर बन्दुकको छायाँ किताबको हकमा मलाई के लाग्छ भने लेखकले आफ्ना कृति कवाडीमा बेच्ने खालको हुन दिएका छैनन् । लेखकलाई अहिले यति मात्रै भनौं, अगामी दिनमा तपाईंका कृति आएछन् भने कृपया योभन्दा अझ राम्रो बनाउनुस् तर, तल नझर्नुस् । कतिपय लेखकले पहिलो कृति राम्रो दिने र पछि पाठकलाई जस्तो दिए पनि हुने रहेछ भनेर सोचिदिन्छन् । त्यसो होइन, लेखकले पनि के बुझिदिनु पर्छ भने पाठक पनि चलाख हुन सक्छन्, राम्रो नराम्रो छुट्याउन सक्छन् । 

किताबका केही पानाहरुमा प्रुफ मिस्टेक पनि छन् । राम्रो काम बढी र गल्ती कम भएकोले यो पटक लेखकलाई माफ तर, आउने संस्करणमा गल्ती सुधारिउन् । 

अन्त्यमा, लेखक श्रीभक्त खनाललाई यति भनौं  राम्रो कृति दिनुभएको एउटा पाठकको तर्फबाट धन्यवाद । आगामी पुस्तकले पाठकको समय, पैसा र पठनलाई बर्बाद नबनाओस् ।