विराटनगर/ धाकधम्की दिएर ५० लाख रूपैयाँ असुली गरेको आरोपमा विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–९ घोघापुल चोकका एजाज शेख रहेका छन् । शेखलाई सोमबार दिउँसो विराटनगरबाट अनुसन्धानको लागि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

केही सर्वसाधारणबाट ५० लाख रूपैयाँ असुली गरेको उजुरी आएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको एसपी खड्काले बताए । ‘केही सर्वसाधारणले नियन्त्रणमा लिएर धाकधम्की दिई आपराधिक लाभ लिएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको हो’ एसपी खड्काले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

शेखले सर्वसाधारणबाट आपराधिक लाभ के कति लिएको भन्नेबारे अनुसन्धानपछि खुल्ने उनले बताए । शेख गैरकानूनी मानिएको मिटर ब्याज लगानीमा संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको छ । यसअघि अवैध मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर–९ घोघापुल चोकका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरी मोरङ प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

सोही ठाउँमा गैरकानूनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय रौनियारलाई प्रहरीले २९ मङ्सिरमा घरबाट पक्राउ गरेको थियो । रौनियारको धन्दामा शेखको पनि संलग्नता हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको बताइएको छ ।