भण्टाबारी/ ७७ ग्राम ब्राउनसुगरसहित धरानबाट पक्राउ परेका इनरुवाका कपडा व्यापारीलाई छुटाउन ‘नयाँ नाटक मञ्चन’ गर्न थालिएको छ ।

झुटो कागजात पेस गरी नेपाली नागरिकतासमेत लिएका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन अहिले ‘ब्राउनसुगरलाई नक्कली साबित गराउन’ रकमको चलखेल सुरु भएको स्रोतको दाबी छ । उनलाई मङ्सिर १७ गते राति बा.१५ च ९०८८ नम्बरको स्कारपियो गाडीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । उनलाई छुटाउनका लागि बिचौलियाहरूले नक्कली ब्राउनसुगर भएको साबित गराउन मोटो रकमको चलखेल सुरु भएको स्रोत बताउँछ । देखाउने व्यवसायका रूपमा उनले सुनसरीको सदरमुकाम इनरुवामा कपडा व्यवसाय गर्दै आएका छन् । तर, भित्रीरूपमा लागूऔषध कारोबार गर्ने गरेर अकुत सम्पत्ति आर्जन गरेको स्रोत बताउँछ ।

उनले सप्तरीको साविक पकरी गाविस–२ बाट झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएका छन् । उनको खास घर भारत बिहार राज्यको भीमनगर हो । स्रोतका अनुसार उनलाई छुटाउनका लागि ५० लाख रुपैयाँसम्मको ‘डिल’ भइरहेका बेला ब्लाष्ट टाइम्स दैनिकले समाचार प्रकाशित गरेपछि दबावमा परेर ‘नयाँ नाटक’ सुरु गरेको बुझिएको छ ।

पक्राउ परेको भोलिपल्ट नै प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको भनी सूचना सम्प्रेषण गरेको थियो । तर, इनरुवामा राम्रो पहुँच बनाएका सिंहलाई छुटाउनका लागि ‘ब्राउनसुगरजस्तो देखिने सेतो पदार्थ’ भनेर ल्यावबाट नक्कली भएको पुष्टि गराउन अर्को चलखेल थालिएको हो । त्यस कार्यमा सुनसरीका केही नेतासमेत लागेको स्रोत बताउँछ । त्यसो गर्न उनीहरूले ४० देखि ५० लाखसम्म खर्च गर्ने योजना बनाएको बुझिएको छ ।

मुख्य गिरोहको खोजी
इलाका प्रहरी कार्यालय धरानका अनुसन्धान अधिकृत इन्स्पेक्टर हेमराज ओलीले प्रारम्भिक बयान लिने काम सकिएकाले मुख्य गिरोहको खोजीमा लागेको बताए । ‘पक्राउ परेका सिंहको म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ उनले भने, ‘भर्खर बयान सकिँदैछ, दोस्रोपटक थप गरेको १० दिनको म्यादमा ब्राउनसुगर कहाँको, कसको हो भन्ने दिशामा अनुसन्धान केन्द्रित छ ।’ सिंहलाई छुटाउन बिचौलियाले चलखेल गरेको विषयमा अनुसन्धान अधिकृत ओलीले भने, ‘प्रहरीको केन्द्रीय ल्यावमा त्यस्तो सम्भावना हुन्न, यसमा हामीले कोडहरू रिपोर्ट गरेका हुन्छौं थाहा हुन्न ।’ उनले कसरी बिचौलियाहरूले चलखेल गर्छन् र ? भन्दै प्रतिप्रश्न गरे । ‘बजारमा हल्ला होला, त्यो अलग पाटो हो तर त्यस्तो हुन्न’ –उनले भने । चार दिनअगाडि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीको भनाइ छ । परीक्षणको लागि पठाइए पनि कहिलेसम्म रिपोर्ट आउने भन्नेबारे यकिन नभएको अनुसन्धान अधिकृत इन्स्पेक्टर ओलीले बताए ।

नागरिकता छानबिनमा ढिलाइ
सिंहले कीर्ते गरी नागरिकता लिएको प्रमाणसहितको समाचार प्रकाशित भए पनि नागरिकताका विषयमा जिल्ला प्रशासन कार्यालय साथै प्रहरीले छानबिनमा चासो देखाएको छैन । सिंहले २०६३/६४ तिर सप्तरी जिल्लाबाट नेपाली नागरिकता लिएको कागजात ब्लाष्टले फेला पारेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिंहको नागरिकता सम्बन्धमा उजुरी परेकोबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए । सप्तरी जिल्लाबाट नागरिकता बनाएको भए आफूहरूले छानबिन गर्न नमिल्ने उनले जवाफ दिए । ‘सप्तरीबाट नागरिकता बनाएको रहेछ भने सप्तरीले हेर्छ’ प्रजिअ पोखरेलले भने, ‘सप्तरीमै अभिलेख हुन्छ, हामीले हेर्न मिल्दैन ।’