विराटनगर । गैरकानूनी मानिएको मिटर ब्याज धन्दा चलाएरको आरोपमा विराटनगर – ९ घोगापुलचौकका ४५ वर्षिय मन्टु भनिने सन्जय रौनियारलाई प्रहरीले पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिने पीडीतहरूको लर्को लागेको छ ।

चर्को ब्याज लिने अवैध मिटरब्याजको धन्दा चलाएर सर्वसाधरणलाई ‘टाट’ पल्टाएको जाहेरी परेपछि रौनियारलाई सोमबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो । रौनियारलाई प्रहरीले पक्राउ गरेपछि चर्को ब्याज लिएर उठिबास हुन लागेका पीडित अहिले मोरङ प्रहरीमा जान थालेका हुन् ।

कानुन व्यवसायीसँग परामर्श लिएर मंगलबार बिहान करिब दुई दर्जन सर्वसाधरण प्रहरीमा जाहेरी दिन पुगेका छन् । रौनियार करिब एक दशकदेखि मिटर ब्याजमा लगानी गर्ने गरेको बुझिएको छ । उनले ग्रामिण क्षेत्रका आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिसहरूलाई मिटर ब्याजमा लगानी गर्छन् । रौनियारबाट सय बढी सर्वसाधारण पीडित भएको मोरङ धनपालथान गाउँपालिका १ का मञ्जर हुसेनले बताए ।

रौनियारलाई पक्राउ गरेपछि ठगीका उजुरी दिन आउन थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । ‘अहिले हामीले अनुसन्धान गर्दै आएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी राईले भने, ‘केही उजुरी र सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । थप विषय पछि खुल्नेछ ।’