इनरुवा । जंगली हात्ती मकुनाले आतंक मच्चाएको निष्कर्श सहित मार्ने तयारीमा छलफल चलाएको सुनसरी प्रशासन उक्त निर्णयबाट केहि कदम पछि हटेको छ ।
मकुना हात्ती आरक्ष आसपासको क्षेत्रका बासिन्दाको लागि खतरा बनेको ठहर गरेको प्रशासनले दीर्घकालीन समाधानको लागि सो हात्ती मार्ने विषयमा छलफल थालेको थियो ।
स्थानीय प्रशासन ऐनमा सम्वन्धित गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेमा सिडियोले जटिलता बुझी कानुनी आधारमा रहेर हिंस्रक जनावरलाई गोली ठोक्न आदेश दिन सक्ने अधिकार प्रत्यायोजन गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सोही ऐनलाई टेकेर आवश्यक परे हात्ती मार्न समेत सकिने भन्दै छलफल चलाएका थिए । यद्यपि मंगलवार आरक्षको कार्यालयमा प्रजिअ पोखरेल सहितको सरोकारबालाको भेलाले प्राविधिकको राय पर्खने निर्णय गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ । कोशी टप्पुमा रैथानेका रुपमा बस्दै आएको जंगली हात्ती मकुना भने बौलाएको हो वा हैन् त्यो भने पुष्टि भएको छैन् । सो सम्वन्धमा अहिले सम्म कुनै जाँच समेत भएको छैन् ।
मकुना मार्ने मनस्थिति नजिक पुगेको प्रशासन कानुनी जटिलताको कारण प्राविधिकको राय पर्खने निर्णयमा पुगेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा मंगलबार बसेको बैठक मकुना बौलाएको हो वा हैन् भन्ने विषयमा केन्द्रित थियो । बैठकले पहिला हात्ती बौलाएको हो हैन यकिन गर्ने भन्ने सहमतिमा टुङिगएको छ ।
प्रमुख जिल्ला अधिकारी, प्रमुख संरक्षण अधिकृत, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाका साथै अन्य सुरक्षा निकायका प्रमुख सहित गाउँपालिका अध्यक्ष र पीडित पक्षबिच भएको छलफलले पहिला हात्ती बौलाएको हो हैन् निर्क्यौल गरिने निर्णय गरेको छ ।
बौलाएको ठहरिए मार्नु परे मारिने विषयमा बैठकमा छलफल भएको छ । बौलाएको नपाइए हात्तीलाई नेल लगाएर नियन्त्रणमा राखिने सहितका अन्य उपाय अवलम्बन गरिने जनाइएको छ ।
बैठकमा सहभागि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जंगली हात्ती बौलाएको हो वा हैन भन्ने विषय यकिन नभई यसै गरिने भन्न नमिल्ने बताए । उनले कानुनले तोकेको परिधिभित्र रहि अघि बढिने प्रतिकृया दिए । पोखरेलले चितवनबाट प्राविधिकको टोली हिंडिसकेकाले उनीहरुले आएर पहिला हात्तीको अवस्था बुझ्ने बताए । त्यसपश्चात खुट्टामा नेल लगाउने वा मार्ने भन्ने विषय तय गरिने उनले बताए ।