भद्रपुर । बहुबिवाह र बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा इलाम चुलाचुलीका ३० वर्षिय विरबहादुर लिम्बु र कमल गाउँपालिका ५ का ३० वर्षकै सुजन देवान रहेका छन् ।

झापा जिल्ला अदालतको २०७५ जेठ १३ गतेको फैसला अनुसार बहुबिवाह मुद्दाका प्रतिवादी लिम्बुलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो । कैदको हकमा २७ दिन असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए ।

खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि सोमबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दाका प्रतिवादी देवानलाई ४ दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । फैसलापश्चात फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको प्रहरी टोलीले आइतबार आफ्नै घरबाट पक्राउ गरेको थियो । फैसला कार्यान्वयनको लागि सोमबार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।