भण्टाबारी। सुनसरीको धरानबाट लागूऔषधसहित पक्राउ परेका भारतीय नागरिकले देखाउने व्यवसाय एउटा र भित्री व्यवसायका रूपमा लागूऔषधको कारोबार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ ।

मङ्सिर १९ गते रातको समयमा ब्राउनसुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहले देखाउने व्यवसायको रूपमा इनरुवामा कपडा पसल सञ्चालन गरे पनि भित्रीरूपमा लागूऔषधको कारोबार गरेर अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानमा खुल्दै गएको छ । धनकुटे रोडमा प्रहरीले चेकजाँचको क्रममा ७७ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनले नेपालको नागरिकता प्रयोग गर्दै आए पनि प्रहरीले अनुसन्धानको क्रममा भारतीय नागरिक नै भएको प्रमाणित गरेको छ ।

उनको इनरुवा बजारमा कपडाको व्यवसाय छ । बा.१५ च ९०८८ नम्बरको स्कारपिओमा उनी सवार भएको समयमा जाँच गर्दा पक्राउ परेका थिए । सप्तरीको साविक पकरी गाविस–२ स्थायी घर बताउने गरे पनि उनको वास्तविक ठेगाना भारत बिहार राज्यको भीमनगर रहेको प्रमाण फेला परेको छ ।

सन् १९७२ साल जनवरी १३ तारिखमा बिहार राज्यको भीमनगरमा जन्मेका सिंहका बाबुको वास्तविक नाम रामबालक सिंह हो । राजकुमार सिंहको आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको हो । उनको नाममा भारतमा जग्गासँगै अन्य सम्पत्तिसमेत रहेको प्रमाण ब्लाष्ट टाइम्सले फेला पारेको छ ।

पक्राउ परेपछि खुल्यो वास्तविकता
राजकुमार सिंहले झुठो विवरण पेश गर्दै २०६३/६४ तिर सप्तरी जिल्लाको साविक पकरी गाविसबाट नेपाली नागरकिता बनाएको स्रोतको दाबी छ । नक्कली बाबु खडा गर्दै सिंहले जिल्ला प्रशासन कार्यालय सप्तरीमा झुठो विवरण पेश गरी नेपाली नागरिकता बनाएको दाबी गरिएको हो ।

सप्तरीबाट सिंहले नेपाली नागरिकता बनाएको सुनसरी प्रहरीले समेत पुष्टि गरेको छ । राजकुमार सिंहका आफन्तहरू अझै भारतको भीमनगरमै बसोबास गर्दै आएका छन् । उनीहरू चार दाजुभाइ हुन् । पक्राउ परेका सिंह नेपाल–भारत आवत–जावत गरिरहन्थे । भारतमा बस्दा विभिन्न आरोपमा उनी जेलमा समेत बसेको स्रोतको दाबी छ । यद्यपि यसबारे आधिकारिक पुष्टि कतैबाट भइसकेको छैन ।

इनरुवा बजारमा कपडा व्यवसाय गर्दै आएका सिंहले सुनसरीको इनरुवामा लाखौं पर्ने घरका साथै जिल्लाका विभिन्न स्थानमा करोडौं मूल्य पर्ने जग्गासमेत खरिद गरेका छन् । छोटो समयमा यति धेरै सम्पत्ति आर्जन गर्नुको पछाडि गैरकानूनी क्रियाकलाप मुख्य माध्यम बनेको प्रहरीको स्रोतको दाबी छ । सिंहमाथि लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । सिंहमाथि मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको बताउँदै एसपी थापाले प्रमाण फेला परेको अवस्थामा नागरिकताको विषयमा आवश्यक अनुसन्धान गरिने बताए । झुठो विवरण पेश गर्दै नेपाली नागरिकता लिएर गैरकानूनी क्रियाकलाप गर्नेलाई कानूनी कारबाही गरिने उनको भनाइ छ ।