विराटनगर । बलत्कार जस्तो जघयन्य अपराधको घटना गाउँमै मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले ६ जनालाई पक्राउ गरेको हो ।

मिलापत्र गराएको आरोपमा पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका ५ का ६५ वर्षिय धनेशु खवास, सोही ठाउँका ५३ वर्षिय सुधार सिंह खवास, ६२ वर्षिय मागन खवास, ६२ वर्षिय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षिय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षिय मथालु खवास छन् । गत भदौ २४ गते सुनवर्षीकी २१ वर्षिय किशोरीलाई धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षिय सुरेश कुमार खवासले जवरजस्ती करणी गरेको आरोप छ । जवरजस्ती करणाी भएको घटना गाउँघरमा पीडित पक्षलाई ५ लाख दिई मिलापत्र गराउने गरेको कागजपत्र फेला पारेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए । 

प्रहरीले यस अघि जवरजस्ती करणी गरेको आरोपमा सुरेश कुमार खवासलाई पक्राउ गरिसकेको छ । पीडित किशोरीले खवासले जवरजस्ती करणी गरेको भन्दै घटना भएको एक महिनापछि गत असोज २५ गते इप्रका रंगेलीमा उजुरी दिएकी थिइन् । पीडित किशोरीले उजुरी दिएपछि खवास फरार थिए । पीडितले दिएको उजुरीको आधारमा प्रहरीले खवासलाई १९ मंसिरमा रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरि अदालतमा जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । ‘अनुसन्धानको क्रममा पक्राउ परेका खवासको बयानको आधारमा बलत्कार जस्तो घटनामा मिलापत्र गराएको कागजपत्र फेला पारेपछि थप ६ जनालाई पक्राउ गरिएको हो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी राईले भने, ‘अहिले थप अनुसनन भइरहेको छ ।’

जवरजस्ती करणाी भएको भोली पल्ट गाउँमा बसेर पक्राउ परेका ६ जना प्रतिवादी र केही भद्रभलादमीहरूले पीडित पक्षलाई पाँच लाख क्षतिपूर्ती दिने गरि मिलापत्र गराएका थिए । यस घटनमा केही व्यक्ति फरार रहेको प्रहरीले बताएकोे छ । उनीहरूको पनि खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।