रमितेखोला, मोरङ/प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ कार्यकर्ताले घरबाट अपहरण गरेर मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या गरेपछि गाउँले त्रसित बनेका छन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जङ्गलमा लगेर निर्ममतापूर्वक दुवै हात बाँधेर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेपछि मिक्लाजुङको उत्तरी क्षेत्रका गाउँले त्रसित बनेका हुन् ।

हत्याका कारण अहिले गाउँले त्रसित भएको मिक्लाजुङ–१ आइतबारेका वीरेन्द्र लिम्बूले बताए । ‘केहीवर्ष अघिसम्म गाउँमा सामान्य झै–झगडा भए पनि यस्ता गम्भीर आपराधिक घटना भएको थाहा थिएन । अहिले समाजसेवी शिक्षकको बर्बरतापूर्वक हत्या भएको छ’ उनले भने, ‘अहिले मिक्लाजुङको उत्तरी क्षेत्र असुरक्षित रहेछ भन्ने महसुस हुन थालेको छ ।’ मिक्लाजुङ–१ रमितेखोलादेखि करिब दुई घण्टा दक्षिण जाँतेमा अस्थायी प्रहरी चौकी छ । मिक्लाजुङको उत्तरी क्षेत्रमा कुनै घटना भएर प्रहरीलाई खबर गर्दा ६–७ घण्टामा मात्र घटनास्थलमा प्रहरीको टोली आइपुग्ने समस्या रहेको उनले सुनाए । ‘मिक्लाजुङको उत्तरी क्षेत्रमा कुनै पनि अप्रिय घटना भएर प्रहरीलाई खबर गर्दा समयमा आइपुग्दैनन् । सुरक्षाकर्मी यहाँ नहुँदा यस्ता आपराधिक घटना हुने गरेको छ । घटना भएको ६ घण्टापछि प्रहरी घटनास्थलमा आइपुग्छन् । कसरी यहाँका जनताको सुरक्षा हुन्छ ?’ उनले स्थानीय स्तरमा सुरक्षा संयन्त्र नहुँदाको समस्या राख्दै ब्लाष्टसँग भने, ‘जिल्लाबाट आएको प्रहरी टोलीले समय–समय १–२ दिनको सुरक्षाको नाममा ‘सर्च’ अनुगमन गर्ने मात्र होइन । बेसक्याम्प वा प्रहरी चौकी राखेर स्थायी रूपमा यहाँका जनताको सुरक्षाको ग्यारेण्टी राज्यले गरिदिनुपर्दछ ।’

शिक्षकको हत्यापछि गाउँ पूरै शोकमा छ । मानिसहरू घरबाहिर निस्कन डराइरहेका छन् । गाउँ सुनसान देखिएको स्थानीय दिनेश पौडेलले बताए । मानिसहरू घरबाहिर निस्कन डराइररेका छन् । बर्बरतापूर्वक हत्या गरेको घटनाले यहाँका सबै गाउँलेलाई झस्काएको १ नम्बर प्रदेश सभा सदस्य कुलबहादुर साम्बाले बताए । मिक्लाजुङको उत्तरी क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प र चौकी स्थापना गरी यहाँका जनताको सुरक्षा व्यवस्था गरिनुपर्ने उनले बताए । ‘विगत एक वर्षदेखि प्रहरीको बेस क्याम्प र प्रहरी चौकी मिक्लाजुङ –१ को रमितेखोलामा स्थापना गरिनुपर्ने माग राख्दै गृह मन्त्रालयसम्म पुगेका थियौं’ उनले भने, ‘अहिलेसम्म चौकीको लागि स्वीकृति आएको छैन । तत्काल चौकी स्थापना गरी सुरक्षा व्यवस्था कडा गरिनुपर्दछ ।’ सुरक्षा संयन्त्रको उपस्थिति नहुँदा मोरङको उत्तरी क्षेत्रमा आपराधिक क्रियाकलाप हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

एक वर्षअगाडि पनि विप्लव समूहले रमिते खोलामा तीनवटा स्काभेटर जलाइदिएका थिए ।
शिक्षकको हत्यापछि प्रहरीले उत्तरी क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई पक्राउ गर्न सर्च अभियान पनि सुरु गरेको छ । मिक्लाजुङको सीमा जोडिएको जिल्ला सिल गरी प्रहरीले हत्यामा संलग्नलाई पक्रिन सर्च सुरु गरेको हो । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले मिक्लाजुङको उत्तरी क्षेत्रमा सुरक्षाकर्मीको आवत–जावत, पेट्रोलिङ र गस्ती बढाएर त्यहाँका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन लागिपरेको जानकारी दिए । ‘सबै पक्षबाट अहिले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ’ उनले भने, ‘केही तथ्य पनि फेला परेका छन् । प्राविधिकसहितका सबै पक्षहरूबाट हामीले अनुसन्धान अगाडि बढाएर हत्यामा संलग्नलाई पक्राउ गर्न लागिपरेका छौं ।’

कहाँ पुग्यो रमितेखोलामा बेस क्याम्प राख्ने तयारी ?
मोरङको उत्तरी क्षेत्रमा पर्दछ मिक्लाजुङ गाउँपालिकाको १ नम्बर वडा । साविकको रमितेखोला गाविस अहिले वडा भएको हो । करिब ४ हजार ५ सय जनसङ्ख्या रहेको वडाभित्र सुरक्षा संयन्त्रको उपस्थिति हुन सकेको छैन । स्थानीय, राजनैतिक दल र जनप्रतिनिधिहरू मिक्लाजुङको उत्तरी क्षेत्र मिक्लाजुङ–१ रमितेखोलाको आइतबारेमा सुरक्षा क्याम्प हुनुपर्ने माग राख्दै मोरङ प्रहरी, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगे । तर, अहिलेसम्म यहाँ प्रहरीको बेस क्याम्प स्थापना हुन सकेको छैन । सुरक्षा संयन्त्रको उपस्थिति हुन नसक्दा यहाँ आपराधिक क्रियाकलाप बढेको प्रदेश सांसद् कुलबहादुर साम्बाले बताए ।

प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विप्लव समूहले अपहरण गरी हत्या गरेको ठाउँ पनि यही वडाभित्र पर्दछ । ‘तत्कालीन मोरङका प्रमुख जिल्ला अधिकारी मनोज भूजेलको कार्यकालमा मिक्लाजुङको रमितेखोलाको गरिबी निवारण भवनमा सशस्त्र प्रहरी वा नेपाल प्रहरीको बेस क्याम्प स्थापना गर्ने सहमति भई सर्वे पनि भएर गृह मन्त्रालयसम्म पत्र पुगेको थियो’ सांसद् साम्बाले भने, ‘अहिलेसम्म गृह मन्त्रालयले त्यो पत्र त्यहीँ थन्क्याएर राखिदियोे । अहिलेसम्म चौकी बस्न सकेको छैन ।’ सुरक्षाकर्मीको उपस्थिति हुन नसक्दा अहिले मिक्लाजुङको उत्तरी क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न थालेको उनले बताए । मिक्लाजुङका स्थानीयवासीलाई सो क्षेत्रमा सुरक्षा बेस क्याम्प वा प्रहरी चौकी स्थापना गरी जनताको सुरक्षाको प्रत्याभूति राज्यले गराउनु पर्ने सांसद् साम्बाको भनाइ छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले मिक्लाजुङको रमितेखोलामा प्रहरीको बेसक्याम्प राख्ने तयारी भइरहेको जानकारी दिए । ‘मोरङको उत्तरी क्षेत्रको पहाडी ठूलो एरिया सुरक्षा संयन्त्रको निगरानीभन्दा बाहिर छ । सुरक्षार्कीको न्यून उपस्थितिले आपराधिक क्रियाकलाप हुनसक्ने हुँदा सुरक्षा फौजको तैनाथी बढाउनु आवश्यक भएको छ’ उनले भने, ‘सुरक्षा बेस क्याम्प राख्न माथिल्लो निकायमा पहल गरेका छौं । यो एरियालाई विराटनगरबाट गएको टोलीले गस्ती गरेर मात्र सकिने अवस्था छैन । सुरक्षा बेसक्याम्प अथवा अस्थायी रूपमा राख्न सकिने चौकीको कन्सेप्टमा जान सकिन्छ । यसमा राजनैतिक दलको ठूलो भूमिका हुन्छ । सबैको साथ सहयोगले चौकी स्थापना गरिनेछ ।’ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वरबाबु कार्कीले मिक्लाजुङको उत्तरी क्षेत्रलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले रमितेखोलाको आइतबारेमा बेसक्याम्प राख्न सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए । ‘हत्याको घटना घटेपछि अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको छ’ –डिआइजी कार्कीले भने ।

मिक्लाजुङको उत्तरी क्षेत्रमा विप्लव समूहको परेडस्थल
मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ विकट पहाडी क्षेत्रमा पर्ने र यहाँ सुरक्षा संयन्त्रको उपस्थिति हुन नसक्ने भएकोले ‘विप्लव’ समूहको सैन्य तालिम हुँदै आएको सूचना प्रहरीमा छ । स्थानीय बासिन्दाका अनुसार ‘विप्लव’ समूहले मिक्लाजुङको पहाडी क्षेत्रलाई आफ्नो परेडस्थलका रूपमा प्रयोग गरेर सैन्य तयारी गरिरहेको प्रहरीलाई बताएका छन् ।

यही सूचना पाएको प्रहरीले त्यस क्षेत्रमा यसअघि नै पटक–पटक ‘स्वीप’ अप्रेसन चलाइसकेको छ । पछिल्लो समय ‘विप्लव’ समूहले आधार इलाका बनाएर बसेको सूचनाका आधारमा मोरङ प्रहरीले विशेष निगरानी बढाएको थियो । प्रहरी स्रोतका अनुसार विप्लव समूहले तालिम र अन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएपछि सो क्षेत्र उच्च निगरानीमा थियो । प्रहरीले चलाएको सर्च अभियानको क्रममा केही दिनअगाडि मिक्लाजुङबाट ‘विप्लव’ समूहका दुई नेतालाई पक्राउ गरेको थियो । मिक्लाजुङको उत्तरी क्षेत्र विकट रहेकाले सहजै सबैको पहुँच नपुग्ने हुँदा पनि भूमिगत भएको ‘विप्लव’ समूहले निर्वाध रूपमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको सूचना प्रहरीसम्म आइपुगेको छ । घटनास्थल पाँचथर, इलाम र मोरङको सीमा क्षेत्रमा पर्छ ।