भद्रपुर । सशस्त्र प्रहरीका एक असईले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेपछि गणमा तानिएको छ  ।

सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका असइ सूर्य कटुवाललाई मङ्गलबार गणमा तानिएको हो ।

आइतबार राति साढे ९ बजेतिर बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमाले कटुवाललाई नियन्त्रणमा लिएपनि कटुवाल घटनास्थलबाट भागेका थिए । घरमा बालिका र उनकी आमा मात्र रहेको चाल पाएपछि मादक पदार्थ सेवन गरी आएका कटुवालले करणीको प्रयास गरेको आरोप छ । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीको घरमा टेलिभिजन हेर्न गएको मौका पारेर उनी आएको परिवारको दावी छ । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।

घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेको उनले बताए । दोषी देखिए कानुनअनुसार कारबाही हुने उनले जनाए । घट्नापछि पीडित परिवारले बुधबार प्रहरीमा निवेदन दर्ता गर्ने बुझिएको छ ।