धरान/ जिल्ला अदालत सुनसरीले बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा रहेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित महिला न्याय माग्दै प्रधानन्यायाधीशसमक्ष पुगेकी छन् ।
सिद्धबाबालाई जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारी वकिलहरूबिनै एकतर्फी फैसला गरेपछि पीडित न्याय माग्दै प्रधानन्यायाधीशसमक्ष पुगेकी हुन् । उनले आफूमाथि अन्याय भएको भन्दै मङ्गलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भट्न पुगेकी थिइन् । उनी श्रीमान्सहित पुगेको भए पनि प्रधानन्यायधीशसँग भेट नभएपछि सचिवालयमा गुनासो सुनाएर फर्किएको जनाइएको छ ।
जिल्ला न्यायाधीवक्ता कार्यालयका सरकारी अधिवक्ताहरूले एकदिन पछाडि सार्नका लागि निवेदन दिएको भए पनि निवेदनउपर सुनुवाइ नगरी एकतर्फी आदेश दिएका थिए । बलात्कारको आरोप लागेपछि गिरीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । तर, उनी प्रहरी हिरासतमा नबसी विराट नर्सिङ होममा बिताएका थिए ।
२०७६ पुस १४ गते जिल्ला अदालतका प्रमुख न्यायाधीश राधाकृष्ण उप्रेतीको इजसालले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा चित्त नबुझेपछि पुनरावेदन गरिएको थियो ।
उच्च अदालत विराटनगरले जिल्लाको आदेश उल्टाएपछि गिरी माघ ९ गते भारततिर भागेका थिए । चालीस दिनपछि अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएको थियो । उनले कारागारबाटै साधारण तारेखमा छुटेर मुद्दा पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए पनि सर्वोच्च अदालतले पनि थुनछेकमा दिएको निवेदनमा मङ्सिर १२ गते उच्च अदालतको निर्णयलाई सदर गरेको थियो ।
जिल्ला न्यायाधीवक्ताको कार्यालय सुनसरीले पनि मिसिल नभएकाले पेशी सार्नका माग गर्दै जिल्ला अदालतमा निवेदन दिएपछि निवेदनउपर कुनै सुनुवाइ भएन । जसका कारण एकतर्फीरूपमा फैसला सुनाइएको जिल्ला न्यायाधीवक्ताको कार्यालयले पनि जनाएको छ । जिल्ला अदालत नियमावली २०७५ अनुसार मुद्दामा दुई पटकसम्म पेशी सार्न पाइने नियम छ । यसअघि एकपटक सारिएको थियो । तर, जिल्ला अदालतको पत्रलाई बेवास्ता गर्दै न्यायाधीश कोइरालाले एकपक्षीय बहस सुनेर गिरीलाई सफाइ दिइएको हो ।