विराटनगर/ चालु आर्थिक वर्षको चार महिनामा एक दर्जन फर्म कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म गरेको अनुगमनको क्रममा १२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । अस्वभाविक मूल्य राखेर कालोबजारी गर्ने, व्यवसायी दर्ता नगर्ने, खरिद बिल नदेखाउने १२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकको आवधिक प्रगति विवरण मङ्गलबार सार्वजनिक गर्दै झापा, मोरङ, सुनसरी र धनकुटाका व्यावसायिक फर्म कारबाहीमा परेको जानकारी दिए ।

कार्यालय प्रमुख पोखरेलका अनुसार अनुगमनको क्रममा विराटनगरस्थित सेण्टर बजार र बीकेएम मसलाले अस्वभाविक मूल्यअन्तर राखी खाद्यवस्तु बिक्री वितरण गरेको पाइएपछि जनही २–२ लाख रुपैयाँ जरिबाना गरिएको बताए । यस्तै अनुगमनको क्रममा खरिद बिल नदेखाउने ९ र दर्ता नगरी सर्जिकल सामान बेच्ने एक जनालाई कारबाहीको दायरामा ल्याइएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ७ सय ९४ वटा फर्म दर्ता, नवीकरण संशोधन भई ३ लाख ८३ हजार ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । चार महिनामा ५ सय १० वटा नयाँ फर्म दर्ता, ९ सय १४ वटा नवीकरण, ३ सय ४० वटा संशोधन र ३० वटा खारेज भएको कार्यालयले सार्वजनिक गरेको अभिलेखमा देखिन्छ ।