धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘इन्टर्न’ चिकित्सकहरुको भत्ता बढाउने सहमती भएको छ ।
विभिन्न माग सहित आन्दोलनरत इन्र्टन चिकित्सक र प्रतिष्ठान व्यवस्थापनबीच सोमबार भएको वार्तामा भत्ता बढाउने सहित ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै उनीहरू ड्युटीमा फर्किएका छन् ।
प्रतिष्ठानले इन्टर्नहरुलाई जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको छ । सहमती इन्टर्नसिप सुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक–कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरूको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ ।
त्यसैगरी नाईट ड्युटीमा खटिने इन्टर्न चिकित्सकहरुले पनि जुनियर रेजिडेन्ट र स्टाफहरुले पाए बमोजिम नै खाजा भत्ता प्रदान गरिने, कोरोना महामारीका समयमा अग्रपंतीमा खटिएका इन्टर्नहरुलाई पनि अन्य सरह न्युनतम स्वास्थ्य सामग्री प्रदान गरिने, कोरोनाको लक्षण देखिएका इन्टर्नहरुको पिसिआर परिक्षण निशुल्क गरिने, पेरिफेरि पोष्टिङका लागि कार्य तालिका बनाएर व्यवस्थित गरिने, विद्यार्थी कल्याण समाजको कार्यकाल सकिएको ३ वर्ष भईसकेकाले अबिलम्ब चुनाव गरी नयाँ कमिटी गठन गर्ने लगायतका सहमती भएका छन् ।
प्रतिष्ठानमा २ सय जना प्रशिक्षार्थी प्रशिक्षक छन् ।