पथरीशनिश्चरे/ मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरसका कारण निधन भएको छ ।

२०४९ सालको स्थानीय निर्वाचनमा तात्कालिन नेकपा एमालेबाट पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक अगुवा ६६ वर्षीय राईको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा आज विहान निधन भएको परिवारले जनाएको छ ।

हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी मनकामना सहकारीका संस्थापक अध्यक्ष, पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित दर्जनौं संघ संस्थाको अगुवाई गरेका राई नगरका प्रखर, स्पष्टवक्ता थिए ।

पथरीशनिश्चरे १ पथरी बजार निवासी उनलाई कार्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि विराट मेडिकल कलेजमा ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको उनका छोरा दीपक राईले जनाए ।

वान्तवाका १ श्रीमती, ४ छोरी र २ छोरा छन् । जसमध्ये दीपक राई फुटबलका राष्ट्यि खेलाडी हुन् ।