धरान । धरानका नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुले विद्यालय सञ्चालकहरुको मनोमानी अन्त्य गर्न माग गर्दै धरान उपमहानगरपालिकालाई ६ बुँदे माग सहित अल्टिमेटन दिएका छन् ।

सोमबार उपमहानगरपालिका कार्यालय पुगेको अभिभावकहरुको समूह ‘धरान अभिभावक विद्यार्थी परिवार’ले उपमहानगरपालिकाका मेयर तिकल राईलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै मंसिर १४ गतेभित्र माग पुरा नभए धर्नामा बस्ने चेतावनी दिएका छन् ।

उनीहरुले मंसिर १४ गतेभित्र अनलाईन कक्षाको यस शैक्षिक सत्रको लागि बार्षिक शुल्क ५० प्रतिशत र अनलाईन कक्षा सञ्चालन गरेदेखि मासिक शुल्क ५० प्रतिशत निर्धारण गर्न माग गरेका छन् ।

त्यस्तै विद्यालयको शैक्षिकस्तर र भौतिक पुर्वाधारको आधारमा स्तर वर्गीकरण गर्न, स्थानीय सरकारकोतर्फबाट तुरुन्त शिक्षा नियमावली जारी गर्न, २०७६ चैत महिनाको मासिक तथा यातायात लगायतको लिएको सबै शुल्क फिर्ता गराउन, स्थानीय सरकारको शिक्षा महाशाखा मार्फत अनलाईन कक्षाको प्रभावकारिता अनुगमन गर्न र स्थानीय सरकारले शुल्क निर्धारण नगरि शुल्क उठाउने विद्यालयलाई कारबाही गर्न पनि अभिभावकहरुले माग गरेका छन् ।

ज्ञापनपत्रमा आफ्ना मागहरु पुरा नभएर अनिश्चितकालिन धर्नामा बस्न बाध्य हुने उल्लेख छ ।

sch

schoo

परीक्षाबाट बञ्चित नगराउन आग्रह

यसैबीच धरान उपमहानगरपालिकाले सोमबार धरानका नीजि तथा संस्थागत विद्यालयहरुलाई अनलाईन कक्षाको शुल्क नतिरेकै कारण विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित नगराउन आग्रह गरेको छ ।

अभिभावकहरुले ज्ञापनपत्र बुझाएपछि उपमहानगरको शिक्षा महाशाखाले धरानका सबै संस्थागत विद्यालयहरुलाई पत्र पठाउदै यस्तो आग्रह गरेको हो । पत्रमा शुल्क नतिरेकै कारण कुनै पनि संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित नगर्नु, नगराउनु निर्देशनानुसर जानकारीको लागि अनुरोध गरिएको उल्लेख छ ।

sc