भण्टाबारी । भारतबाट लुकाएर ल्याएको प्रतिबन्धित लागूऔषधसहित दुईजना युवा पक्राउ परेका छन् ।उनीहरूलाई कोशी गाउँपालीका १ स्थित राजापोखरीबाट आइतबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
भारतीय बजारबाट बोरामा लुकाएर ल्याएको लागूऔषधसहित कोशी गाउँपालीका ५ बस्ने दुईजना युवालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा १९ वर्षका जुबेर आलम र १८ वर्षका नियाजुद्दिन मिया रहेका छन् ।
 
चेकजाँच गर्दा उनीहरूको साथबाट स्पास्मोप्रोक्सिभन १२ पत्ता २८८ क्याप्सुल, नाइट्रोजन ट्याबलेट १० पत्ता १९९ पीस,डाइलेक्स डिसि ४४ बोतल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । भिभो र जिभी कम्पनीको एक एक थान मोबाइल सेट समेत उनीहरूको साथबाट बरामद गरिएको छ । आवश्यक कारबाहीको लागि पक्राउ परेका दुवैजनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।