संखुवासभा । संखुवासभा जिल्लाको अति दुर्गम भोटखोला गाउँपालिकामा कोरोना भाईरस संक्रमण हुन नदिन सावुन वितरण गरिएको छ ।

गाउँपालिकाका २ हजार घर परिवारलाई सचेतना कार्यक्रमसंगै सावुन वितरण गरिएको हो । हिमालय एजुकेशन सेन्टर (एचईसी) खाँदबारीले सचेतना अभिवृद्धिका लागि गाउँपालिकाको सरकारी तथा गैह्र सरकारी संस्थाहरुसंगै गाउँपालिकाका सबै घर परिवारमा सावुन वितरण गरिएको एचईसीका सचिव सुनिता गुरुङले बताइन् । ग्रामिण क्षेत्रमा सावुन वितरणसंगै सचेतना जगाउनु पहिलो अवश्यक रहेको उनले बताईन् ।

सञ्चार सुविधाबाट बञ्चित भोटखोला क्षेत्रका आम नागरिकहरुमा भाईरस बारे जानकारी नहुँदा यस क्षेत्रमा झनै संक्रमणको त्रास छ । विभिन्न सरकारी संयन्त्रहरुलाई भोटखोला क्षेत्रमा पुग्न समेत नसक्ने अवस्थामा एचईसीले सहयोग गरेको हो । गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्था, सरकारी संयन्त्रहरुमा सावुनसंगै स्वास्थ्य सामाग्री वितरण गरेको हो । गाउँपालिकाको १ हजार ९ सय घर परिवार र सरकारी संस्थाहरुमा ६ हजार थान सावुन, सेनिटाईजर ७० थान, सर्जिकल मास्क २ हजार थान, केएन ९५ मास्क १५० थान, पिपिई सेट ८ थान र थर्मल गन १२ थान विभिन्न स्वास्थ्य संस्थाहरुमा वितरण गरेको हो ।

गाउँ गाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै स्थानीय स्तरमा नै सावुन वितरण गरेको भन्दै स्थानीयहरु खुसी भएका छन् । स्थानीय पेक्मा सोनाम भोटेले कोभिड १९ को संक्रमण सुरु भएको लामो समय वितिसक्दा समेत स्थानीयहरु संक्रमणबाट बच्न कम सचेत रहेको बताए । आधारभूत पुर्वाधारको विकास समेत नपुगेको भोटखोलामा यो कार्यक्रमले विशेष भुमिका खेलेको स्थानीयहरुले बताए ।

गाउँपालिका क्षेत्रमा सावुन तथा स्वास्थ्य सामग्री वितरण गरेर कोरोना विरुद्धको अभियान सञ्चालन गरेकोमा भोटखोला गाउँपालिका अध्यक्ष समेत खुसी छन् । गाउँपालिका अध्यक्ष तेम्बा भोटेले गाउँपालिका पनि कोरोना विरुद्धको अभियानमा रहेको र सोहि अभियानमा एचईसीले समेत साथ दिएको भन्दै धन्यावाद ज्ञापन गरेका छन् । विभिन्न संघसंस्थाहरुले यस्ता कार्यक्रम सुगम स्थानहरुमा मात्र गर्ने गरेको तर दुर्गम क्षेत्रमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।