धरान/ राष्ट्रपति विद्यादेवी भण्डारीले औषधिसम्बन्धी (तेस्रो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

बुधबार अध्यादेश ल्याइएको हो । संसद् अधिवेशन अन्त्य वा बस्न नसकेको अवस्थामा नयाँ कानून अध्यादेशमार्फत् ल्याउने गरिन्छ । कानूनी अड्चनका कारण कोरोना भाइरसविरुद्धको खोप ल्याउन असहजता देखिने भएपछि अध्यादेश ल्याइएको बताइन्छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले अध्यादेश जारी गरेको जानकारी दिए । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

केही समयअघि मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको खोप ल्याउन कानूनी समस्या नपरोस् भनेर अध्यादेश ल्याउन लागिएको जनाएका थिए । उनले विराटगरको एक कार्यक्रममा पनि सो कुरा बताएका थिए । अध्यादेश जारी भएसँगै कोरोनाविरुद्धको खोप ल्याउन सहज हुने अनुमान गरिएको छ । अहिले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहेको छ ।

कतिपय देशमा खोपको तेस्रो चरणको परीक्षण पनि पूरा गरिएको छ । यतिसम्म कि रुसले केही महिनाअघि नै खोप परीक्षण पूरा भएको दाबी गरेको थियो तर, पश्चिमा देशहरूले रुसमा निर्मित खोपबारे विभिन्न आशङ्का जाहेर गरेका थिए ।